काठमाण्डौ । अन्ततः लामो प्रतिक्षा र रस्साकस्सीपछि धितोपत्र ब्रोकर(सेयर बजारका दलाल)को कमिसन ४० प्रतिशतले घटाउने अर्थमन्त्रालयले निर्णय गरेको छ । 

अर्थमन्त्रालयले धितोपत्र बोर्डबाट गएको प्रस्तावको बिषयमा निकै ढिलो गरी बुधबार निर्णय गर्दै बजारको आकार, कारोबार रकम र समय समेत बढेको भन्दै साबिकको कमिसन ४० प्रतिशतले घटाएको हो । 

अब सेयरबजारमा लगानीकर्ताले सेयरको कारोबार गर्दा दलालहरुलाई पहिलेभन्दा कम कमिसन रकम तिर्नुपर्ने हुन्छ । 

‘धितोपत्र बजारका ब्रोकरहरुको कमिसन ४० प्रतिशतले घटाउने निर्णय भएको छ ।’–अर्थमन्त्रालयका एक अधिकारीले बिजशालासँग भने । 

ती अधिकारीका अनुसार अब धितोपत्र ब्रोकरले न्यूनतम ० दशमलव ४ प्रतिशतदेखि अधिकतम ० दशमलव ६ प्रतिशतसम्म मात्र शुल्क लिन पाउनेछन् । नयाँ व्यवस्था कार्यान्वयन हुनुअघिसम्म चाहि सेयर ब्रोकरहरुले कारोबार रकमका आधारमा न्यूनतम ०.७ प्रतिशतदेखि अधिकतम १ प्रतिशतसम्म सेवा शुल्क(कमिसन) असूल्दै आएका छन् । 

बोर्डका अनुसार धितोपत्र खरिदबिक्री गरिदिए बापत ब्रोकर कम्पनीले ५० हजार रुपैयाँसम्म १  प्रतिशत, ५० हजारदेखि  ५ लाखसम्म ०.९ प्रतिशत, ५ लाखदेखि  १० लाखसम्म ०.८ प्रतिशत र १० लाख भन्दा माथि ०.७ प्रतिशत सेवा शुल्क लिन पाइने कानूनी व्यवस्था छ । अब नयाँ व्यवस्था लागु भएपछि ब्रोकर कम्पनीले ५० हजार रुपैयाँसम्म ० दशमलव ६ प्रतिशत, ५० हजारदेखि  ५ लाखसम्म ०.५ प्रतिशत, ५ लाखदेखि माथि मात्र ०.४ प्रतिशतसम्म  सेवा शुल्क लिन पाउनेछन् । 

यसअघि निकै लामो बहस र रस्साकस्सीका बीच नियामक नेपाल धितोपत्र बोर्डले सम्बद्धहरुसँग धितोपत्र व्यवसायी नियमावली २०६४ संसोधन गरी अन्तिम स्वीकृतिका लागि मन्त्रालयमा पेश गरेको थियो । 

बोर्डका अधिकारीहरुका अनुसार सो निर्णयको पत्र प्राप्त भएपछि मात्र कार्यान्वयनको प्रक्रिया सुरु हुने र बोर्डले निर्देशन जारी गरेपछि अर्थमन्त्रालयबाट भएको निर्णयले कानूनी मान्यता पाउँछ । बोर्डले धितोपत्र ब्रोकर कम्पनीहरुले शेयर खरिदबिक्री गरिदिए बापत लिन पाउने सेवा शुल्कमा संशोधन गरी अधिकतम सीमा १ प्रतिशत प्रस्ताव गरेको थियो । बोर्ड स्रोतले भन्यो ।