काठमाण्डौ । सोनापुर मिनरल्स एण्ड आयल लिमीटेडको प्रिमियम मूल्यको आईपीओ पहिलो चरणमै ओभरसब्सक्राइब्ड भएको छ । 

सिडिएसी एण्ड क्लियरिङ लिमिटेडका अनुसार बुधबार ५ः०७ बजेसम्म ९ लाख ८६ हजार ७५० आवेदकले १ करोड १७ लाख ५२ हजार २९० कित्ता खरीदका लागि आवेदन दिएका छन् । 

गत असोज १४ गतेदेखि कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थपेर कुल २३७.५८ रुपैयाँ प्रतिकित्ताको दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर निष्कासन गरेको थियो। यो आईपीओ निष्कासन बन्द छिटोमा असोज १७ गते बैंकिङ समयपछि भनिएको थियो। तर, मागबमोजिम आवेदन नपर्ने अनुमानबीच धितोपत्र बिक्री प्रबन्धक एनआईबिएम एस क्यापिटलले नेपाल धितोपत्र बोर्डको अनुमतिमा आवेदन दिने म्याद लम्ब्याएको थियो । ओभरसब्सक्राइब्ड भएपछि असोज २८ गतेअघि नै आईपीओ निश्कासन बन्द हुने बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले जनाएको छ । 

सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले पनि सीडीएससीको वेबसाइटमा देखिएको तथ्यांकले सोनापुरको आईपीओ ओभरसब्सक्राइड भइसकेको देखिए पनि क्यापिटलबाट प्रमाणीकरणको काम बाँकी रहेकोले वास्तविक तथ्यांक फरक पर्न सक्ने बताए। ‘त्यसैले धितोपत्र बोर्डको नियमअनुसार नै क्यापिटलले म्याद थप गरेको हुन सक्छ’, उनले भने।