काठमाण्डौ । सरकारले नेपाल स्टक एक्सचेञ्जको महाप्रबन्धक(जिएम)को पदमा चन्द्रसिंह साउद नियुक्त भएका छन् । 
 
सोमबार बिहान बसेको मन्त्रीपरिषद बैठकले उनलाई चार वर्षका लागि नेप्सेको जिएम नियुक्त गर्ने निर्णय गरेको हो । 
 
अर्थमन्त्रालय अन्तरगत गठित सिफारिस समितिले अन्तिम ३ नामको रुपमा साउदसहित मनोज ज्ञवाली र प्रमोदराज शर्माको नाम समेत सिफारिस गरेको थियो । तर, कांग्रेसकै अर्थमन्त्री र प्र धानमन्त्री भएको समयमा माओवादी निकट मानिने साउदले बाजी मारेका हुन् । उनी विवादित पात्र हुन् । 
 
सरकारले खुल्ला प्रतिस्पर्धाबाट नेप्सको प्रमुख छनौटका लागि दरखास्त आह्वान गरेको थियो । आवेदन दिएका १३ मध्येबाट यसअघि टप ५ उम्मेद्वार छानिएका थिए । ती ५ जनामध्येबाट समेत प्रस्तुती तथा उनीहरुको कार्यानुुभव, शैक्षिक योग्यता तथा अन्तर्वार्ताका आधारमा ३ जनालाई सर्ट लिस्ट गरिएको थियो । सिफारिस समितिले मन्त्रीपरिषदमा ३ जनाको नाम सिफारिस गरेपछि तिनै नाममध्येबाट एकजनालाई नेप्सेको प्रमुख बनाउने प्रावधान अनुरुप साउदलाई नियुक्त गरिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । 
 
को हुन् साउद ?
सुदुरपश्चिम बैतडी स्थायी बसोबास रहेका साउदले व्यवस्थापनमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् । उनी विभिन्न कलेजमा अध्यापन समेत गराउँछन् । यसअघि साउदले २४ वर्षसम्म नेपाल इन्स्योरेन्स कम्पनीमा काम गरेका थिए । सो कम्पनीमा उनी २०५१ सालमा छैटौं तहमा प्रवेश गरी प्रमुख कार्यकारी अधिकृत हुँदै ०७३ मा अवकाश पाएका थिए । हाल चार्टर्ड क्यापिटल एण्ड इन्भेस्टमेन्टका अध्यक्ष समेत रहेका साउद पूँजीबजारका लगानीकर्तामाझ पनि निकै अलोकप्रिय छन् । उनले लगानीकर्ताको मन जित्नदेखि लिएर वर्षौदेखि थाँती रहेका, विगतको नेप्से नेतृत्व कमिसनको चक्करमा फसेर पूरा नभएका कैयन काम समयमै पूरा गर्नुपर्ने चुनौतिहरु छन् । आधुनिक बजार प्रणालीको स्थापनादेखि इन्साइडर टे«डिङको धन्दा रोक्नेसम्मका ठूला चुनौतिसम्म उनीसामुु छन् ।