काठमाण्डौ । सुरुवाती कारोबारमा सामान्य अंकले बढेको नेप्से परिसूचक बजार बन्द हुनुभन्दा केही मिनेटअघि बैंकिङ समूहको सूचकमा आएको उछालले एकाएक भारि बढोत्तरी भई बन्द भएको छ ।

बुधबार बजार सुरु भएदेखि सामान्य अंकको घटबढको क्रम चलेको थियो । त्यसपछि लामो समयसम्म सामान्य अंकले बढेको बजारमा कारोबार पनि सामान्य आकारमै सीमित थियो । तर, कारोबार समय सकिन केही बाँकी हुँदादेखि बैंकिङ समूहमा एकाएक उछाल आयो ।

नेपालको सेयर बजार बैंकिङ समूहबाट डोमिनेन्ट बजार हो । यो समूहको बजार हिस्सा ८० प्रतिशत भन्दा बढी छ । यहीकारण समेत यो समूहको उपसूचकमा हुने घटबढले समग्र बजार परिसूचकमै प्रभाव पार्ने गर्दछ । बुधबार अन्तिम समयमा यही घटना भएको हो ।

यो दिन बैंकिङ समूह २७.१६ अंकले उछालसहित ११४३.९२ को विन्दूमा पुग्यो । नेप्से परिसूचक चाहि २०.८५ अंकको उछालसँगै १२८४.२३ को विन्दूमा पुगेको छ ।

वाणिज्य बैंकहरुमा खरीद चाप ह्वात्तै बढेका कारण र अन्य बलिया कम्पनीको सेयरमा समेत खरीद गर्ने लहर चलेपछि सेन्सेटिभ इण्डेक्स ४.६८ अंकले बढ्यो । समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.७१ अंकको बढोत्तरी भयो ।

आजको दिन नेप्सेमा रहेका १२ वटा उपसमूहमध्ये ९ वटामा हरियाली छायो भने अन्य ३ मा रातो पोतियो ।

सबैभन्दा धेरै जीवन बिमामा ८१.०७ अंक र व्यापारमा ६३.४७ अंकको बढोत्तरी भयो । बैंकिङ, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बिमा, लघुवित्त र म्युचुअल फन्डमा पनि क्रमशः २७.१६, ३५.४२, ४.२९, २०.१२, २३.६३, २७.२ र ०.०६ अंकको बढोत्तरी आयो । 

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेप्सेमा सूचीकृतमध्ये १७७ कम्पनीका ३० लाख ५५ हजार २३३ कित्ता सेयर ९० करोड ४८ लाख १३ हजार ९३२ रुपैयाँमा किनबेच भयो । 

आजको दिन उच्च कारोबार गर्ने १० कम्पनीको सूचीमा सात स्थान वाणिज्य बैंकहरुले कब्जा गर्न सफल भए । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको कारोबार भयो । यो बैंकको सेयरमात्र ७ करोड ४० लाख रुपैयाँबराबरको किनबेच भयो ।

त्यस्तै एनएमबी बैंकको ३ करोड १८ लाख, नेपाल बैंकको २ करोड ९० लाख, नागरिक लगानी कोषको २ करोड ८६ लाख, नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ५८ लाख, डिप्रोक्स लघुवित्तको २ करोड २८ लाख र एभरेस्ट बैंकको २ करोड १७ लाख रुपैयाँबराबरको कारोबार भयो । 

यसैगरी सिभिल बैंक, प्रभु बैंक र एनसीसी बैंकको क्रमशः १ करोड ९९ लाख, १ करोड ९६ लाख र १ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भयो। 

धेरै कमाउने र गुमाउनेहरु

आज पाँचवटा कम्पनीका सेयरधनीहरुले उच्च कमाए । विशाल बजार कम्पनी, रिलायन्स फाइनान्स, इन्फिनिटी लघुवित्त, महिला सहयात्री लघुवित्त र पाँचथर पावर कम्पनीका सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लाग्यो ।

यस्तै पञ्चकन्या माई हाइड्रो र मञ्जुश्री फाइनान्सका सेयरधनीहरुले पनि राम्रै कमाए । यी दुवै कम्पनीको सेयरमूल्यमा ९ प्रतिशतभन्दा बढीले बढोत्तरी भयो ।

आजको दिन रैराङ हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्यमा ७ प्रतिशतभन्दा बढीले गिरावट आयो।