काठमाण्डौ । अन्यौल र अनिश्चयको चाङ हट्न नसक्दा लगानीकर्ताको मनोबल माथि उठ्न सकेको छैन । जसको फलस्वरुप सेयर बजार परिसूचकको यो साताको ओपनिङ पनि निराशाजनक नै रह्यो । 

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ३.४५ अंकले घटेर १२०९.६२ को विन्दूमा सीमित बन्न पुगेको छ । 

बजारमा निरन्तर गिरावट आए पनि अहिलेका लागि बजारको बटमलाइन १२०० नै हो भन्ने धारणा लगानीकर्तामा रहेको देखिएको छ । यसैकारण कारोबारका क्रममा करिब ११०० को लाइनमा झर्न खोजिसकेको बजार अन्तिम अवस्थामा सम्हालिएर केही बढी १२०९ मा  पुगेको हो । 

पछिल्लो समय लगानीकर्ताहरुमा अन्यौल बढाउने विविध घटनाहरु भएका छन् । पूँजीगत लाभकरको अन्यौल अझै सुल्झिएको छैन भने बैंकलाई ब्रोकर लाइसेन्सको विषय तुहिने अवस्थामा पुग्दा समेत कतिपय लगानीकर्ता हच्किएका छन् । 

अर्कोतर्फ, बजारमा तरलता सहज भए पनि लगानीकर्ताहरुले अपेक्षा गरेजस्तो ब्याजदर सस्तिएको छैन । यसले समेत बजारमा थप लगानी गर्नेहरु निरुत्साहित भएका छन् । 

नेपाल राष्ट्रबैंकले सर्कुलरमार्फत बैंक तथा वित्तीय संस्थाहरुको आम्दानी र नाफा नै ह्वात्तै घटाउने गरी व्यवस्था कार्यान्वयनमा ल्याउन खोजेपछि यसले समेत लगानीकर्तामा नकारात्मक असर परेको छ । 

पछिल्लो समय आम लगानीकर्ताहरु नेपालको सेयर बजार सीमित समूहको कब्जामा रहेको र सेटिङ गरी उनीहरुले जस्तो चाहे, बजारलाई त्यस्तै गतिमा दौडाउने गरेको तीतो यथार्थलाई बुझ्न थालेका छन् । यसले समेत लगानीकर्तालाई बजारमा थप लगानीका लागि रोकिरहेको छ । 

दुईतिहाईको सरकार बनेपछि नै उसले लिने नीतिप्रति शंका व्यक्त गर्दै बजारलाई चलायमान बनाउने मारवाडी समुदायमध्ये अधिकांश पलायन भइसकेका कारण समेत अवस्था सोचेजस्तो सहज बन्न नसकेको विश्लेषकहरु बताउँछन् । मारवाडी समुदाय मात्रै होइन, अन्य लगानीकर्ता समेत बजारबाट धमाधम पलायन भइरहेको उनीहरुको दाबी छ । 

यस्तै कारणले घटिरहेको बजारमा आइतबार होटल समूह ३.०४ र उत्पादन तथा प्रशोधन समूह ११.३ अंकले बढे भने बाँकी सबै समूहको सूचकमा रातो पोतियो ।

बैंकिङ समूह १.६६ अंकको गिरावट आएको यो दिन विकास बैंक समूह २.२१ अंक, ट्रेडिङ समूह २.०३ अंक, जलविद्युत समूह १५.१४ अंक, बित्त समूह ०.६ अंक, निर्जीवन बिमा समूह ३१.३२ अंक, जीवन बिमा समूह ५१.०७ अंक, माइक्रोफाइनान्स समूह ४.२ अंक, म्युचुअल फण्ड समूह ०.०२ र अन्य समूह ०.०७ अंकले घटे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन १७१ कम्पनीका १२ लाख ७५ हजार ६२३ कित्ता सेयर ३५ करोड २ लाख ६९ हजार ५०९ रुपैयाँमा किनबेच भएको छ । 

यो दिन छिमेक लघुवित्तको ३ करोड २१ लाख  बढीको संस्थापक सेयर किनबेच भयो । 

नेपाल बैंकले २ करोड ४१ लाख बढीको कारोबारको गरेको यो दिन नेशनल लाइफ इन्स्योरेन्सले १ करोड ९५ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड ५२ लाख, एनआइसी एशियाले १ करोड ४६ लाख, अपर तामाकोशीले १ करोड १० लाख, रसुवागढी हाइड्रोले १ करोड ७ लाख, प्रभू बैंकले १ करोड ६ लाख, नागरिक लगानीकोषले ९२ लाख र कृषि विकास बैंकले ८६ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा सिर्जना फाइनान्सका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ४.२१ प्रतिशतले बढ्यो ।

पाँचथर पावरका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ७.२० प्रतिशतले घट्यो ।