काठमाण्डौ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा दोहोरो अंकले वृद्धि भएको छ । 

निषेधाज्ञाकै बीच दोहोरो अंकले बजार बढेसँगै कारोबार रकम पनि बढेर १ अर्ब १० करोड माथि पुगेको छ । यस्तो विषम परिस्थितिमा पनि नेप्से परिसूचकमा दोहोरो अंकको बढोत्तरी हुनु र कारोबार रकम पनि बढेर १ अर्ब १० करोड माथि पुग्नुले बजारको सुखद भविष्यको संकेत गर्छ । 

बजार परिसूचक र कारोबार रकम एकसाथ यसरी बढ्नु पनि सुखद भविष्यको संकेत हो । विश्लेषकहरुका अनुसार बजारको यो प्रवृति केही दिन निरन्तर रहे निकट भविष्यमै बजारमा उछाल आउनसक्ने संभावना हुन्छ । 

पछिल्लो समय लगानीकर्ताका अधिकांश क्षेत्रहरु संकुचनमा छन् । निषेधाज्ञा र बन्दका कारण आर्थिक गतिविधि ठप्प छ । यस्तो बेलामा सानोतिनोदेखि ठूला लगानीकर्ता समेत सेयर बजारमा केन्द्रीत भएका छन् । 

योसँगै बैंकको ब्याजदर घटेर न्यून विन्दूमा सीमित बन्न पुगेको छ । बैंकमा लगानीयोग्य रकम थुप्रिएको छ, तर कर्जाको माग न्यून छ । यस्तो बेलामा बैंकहरुले सहज रुपमा सेयर धितो कर्जा समेत प्रवाह गरिरहेका छन् । यसले समेत बजारमा सकारात्मक तरंग ल्याउन मद्धत गरिरहेको विश्लेषक बताउँछन् । 

कोरोना संकटका कारण अन्य क्षेत्रमा पैसा खन्याउन डराइरहेकाहरु धमाधम सेयरमा लगानी गर्न थालेपछि बजारले गति लिने संकेत मिलेको उनीहरु बताउँछन्। पुरानासँगै नयाँ लगानीकर्ताको चाप बजार बढ्न थाल्नु र असहज परिस्थितिबीच पनि घरबाटै अनलाइनबाट कारोबार गर्न सहज वातावरण सिर्जना हुनुले पनि बजार बढाउन टेवा पुगिसकेको विश्लेषकहरु बताउँछन्। गत बिहीबारको तुलनामा आज कारोबार रकम बढ्नुले सेयर बजार बढ्नेमा लगानीकर्ताहरुको मनोबल बढेको र यही कारणले सक्रिय रुपमा सेयर खरिदबिक्री गरिरहेको प्रस्ट हुने उनीहरुको भनाइ छ।

पछिल्लो समय अनलाइनबाट सेयर कारोबार गर्नेहरुको संख्या समेत ह्वात्तै बढेको छ । बजार सुधारका लागि भइरहेका प्रयासहरुले सार्थक रुप पाउँदै अनलाइन कारोबार सहज ढंगले हुन थालेका कारण समेत बजारमा सकारात्मक प्रभाव परेको देखिएको छ । 

यिनै कारणहरुले नेप्से परिसूचक १२.७७ अंकको बढोत्तरीका साथ  १४१०.३४ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स १.१९ अकंको वृद्धिसँगै २८९.५५ उचाइमा पुगेको छ।

आज नेप्से उपसमूहमा रहेका १२ वटामध्ये ९ वटा समूहमा हरियाली छायो भने अन्य ३ वटा समूह रातो पोतियो।

यो दिन निर्जीवन बीमा समूहमा सबैभन्दा बढी २३३.२२ अंकको उछाल आयो। जीवन बीमा समूहमा १७३.८४ अंकको बढोत्तरी भएको यो दिन बैंकिङ समूहमा ४.८ अंक, होटेल्स् समूहमा २३.९४ अंक, विकास बैंक समूहमा ७.९३ अंक, वित्त समूहमा ६.०३ अंक, उत्पादन तथा प्रशोधन समूहमा ८८.२३ अंक, अन्य समूहमा ४्१४ अंक र लघुवित्त समूहमा २३.६१ अंकको वृद्धि भयो।

यो दिन व्यापार समूहमा २.५६अंक, जलविद्युत् समूहमा १.३८ अंक र म्युचुअल फन्ड समूहमा ०.०३ अंकको गिरावट आयो।

धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये १८४ कम्पनीका २४ लाख ९८ हजार ६६२ कित्ता सेयर १ अर्ब १० करोड ८० लाख ५३ हजार ५९७ रुपैयाँमा कारोबार भयो।

यो दिन नेको इन्सुरेन्सले सर्वाधिक १४ करोड ६४ लाख रुपैयाँको कारोबार गर्यो। आज शिवम् सिमेन्टले ७ करोड १९ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीले ६ करोड ६८ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सले ५ करोड ७४ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ४ करोड २४ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ३ करोड ५३ लाख रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले ३ करोड ५१ लाख रुपैयाँ, नेपाल बैंकको २ करोड ५२ लाख रुपैयाँ, नागरिक लगानी कोषले २ करोड ४५ लाख रुपैयाँ र सूर्या लाइफ इन्स्योरेन्सले २ करोड ८९ लाख रुपैयाँ बढीको कारोबार गरे। 

धेरै कमाउने र धेरै गुमाउनेहरु
आज समृद्धि फाइनान्सका सेयरधनीहरुले उच्च कमाए। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट नै लाग्यो।

यो दिन पञ्चकन्या माई हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ४ प्रतिशतको हाराहारीमा गिरावट आयो।