काठमाण्डौ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ३८ जना कोरोना संक्रमित थपिएका छन् । योसहित देशभर २२४ जना संक्रमित थपिएका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकाका ३ जिल्लामध्ये काठमाण्डौमा मात्रै ३२ नयाँ संक्रमित भेटिएका हुन् । टेकूस्थित प्रयोगशालामा गरिएको स्वाब परीक्षण गर्दा काठमाण्डौका ८ जना, शुक्रराज टपिकल अस्पतालमा काठमाण्डौका ३ जना, पाटन अस्पतालको प्रयोगशालामा काठमाण्डौका २ जना, वीर अस्पतालको प्रयोगशालामा काठमाण्डौका एकजना र नेपाल प्रहरी अस्पतालमा काठमाण्डौका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

यस्तै, शुक्रराज टपिकल अस्पतालको प्रयोगशालामा ललितपुरका २ जना, पाटन अस्पतालको प्रयोगशालामा पनि ललितपुरका २ जना, नेपाल प्रहरी अस्पतालमा ललितपुरका १ जना र भक्तपुरको कोरियामैत्री अस्पतालमा भक्तपुरका एकजना संक्रमितको पहिचान भएको हो । 

पछिल्लो २४ घण्टामा देशभरबाट १५१ जना कोरोना संक्रमित निको भएका छन् । योसहित निको हुने संक्रमितको कुल संख्या १४ हजार ३९९ पुगेको छ । 

हालसम्म नेपालमा ३ लाख ७५ हजार ४१६ जनाको पीसीआर टेस्ट भइसकेको छ भने हाल १२ हजार १११ जना क्वारेन्टिनमा रहेका छन् । 

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५ हजार ३१६ रहेको छ। प्रति १० लाख जनसंख्यामा १२ हजार ७८८ जनाको दरले पीसीआर परीक्षण भइसकेको छ भने प्रति १० लाख जनसंख्यामा कोरोनाबाट मृत्यु हुने १.९ रहेका छन् । 

यसैबीच, पछिल्लो समय सरकारले साँगा, फर्पिङ र थानकोटबाट १० हजार २०५ जनाको नमूना संकलन गरेको थियो । तीमध्ये हालसम्म ३ हजार ७१३ जनाको स्वाब परीक्षण भइसकेको छ, जसमध्ये २५ जनामा कोरोना संक्रमण देखिएको छ ।