काठमाण्डौ । हाइड्रोपावर समूहलाई पुनः उचालेर माथिल्लो मूल्यमा सेयर बिक्री गर्ने चलखेलमा ब्रेक लागेको छ ।

विगत केही दिनअघिदेखि अपर तामाकोशीको सेयरमा दिनहुँ सर्किट लगाउँदै ५ सय रुपैयाँ प्रतिकित्ता नाघेकोमा आज भने नेगेटिभ सर्किट लागेको छ । नेगेटिभ सर्किट त लाग्यो नै तर, अपरको सेयर किन्न कोही लगानीकर्ताहरुले पनि खरिद आदेश नै दिएनन् ।

समाचार स्रोतकाअनुसार अपर तामाकोशीमा केही स्मार्ट र टाठाबाठा लगानीकर्ताले केही समयअघि प्रतिकित्ता रु.३०० मुनि खरीद गर्दै एकीकृत गरेको र अपर तामाकोशीलाई ७०० प्रतिकित्ता मूल्य पुर्याउने योजना थियो तर, बीचैमा अर्थात ५०० रुपैयाँमै ब्रेक लागेको छ । बजारका केही खेलाडीहरुले नयाँ तथा साना लगानीकर्ताहरुको सेन्टिमेन्टलाई क्याच गर्दै उक्त कम्पनीको सेयरमूल्य दिनहँु पम्प एण्ड डम्प गर्दैै लगिएको थियो ।

अपर तामाकोशी विगत वर्षदेखि नै ९९ % निर्माण सम्पन्न भएको आयोजना हो । राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेको अपर तामाकोशी ४५६ मेगावाट क्षमताको यो कम्पनीको लागत समय गुज्रेसँगै निरन्तर बढ्दो क्रममा छ । तर बजारमा राष्ट्रिय गौरवको आयोजना अनि अर्को चिलिमे जलुविद्युत कम्पनीसरह भन्दै हौवा पिटाउँदै यो कम्पनीको सेयरमूल्य ७०० माथि पुर्याउने योजनामा ब्रेक लागेको छ ।

समाचार स्रोतकाअनुसार अपर तामाकोशीको सेयर उचाल्दै माथि पुर्याउन बजारका केही चिरपरिचित लगानीकर्ताहरुको पनि संलग्नता रहेको छ । यो कम्पनीको सेयरमूल्य बढाउनुको अर्को खास कारण चाहिँ ३०० रुपैयाँमुनि खरिद गरेका ठूलो परिमाणमा विभिन्न हाइड्रोपावर कम्पनीहरुको मूल्यलाई समेत अपरकै रेञ्जमा तान्नसमेत अपर तामाकोशीको सेयरमूल्यलाई दिनहुँ सर्किट लगाउँदै माथि उचालिएको स्रोत दाबी गर्छ । प्रतिकित्ता २५० देखि ३०० रुपैयाँसम्म खरिद गरेका हाइड्रोपावरलाई एकलट माथि उचाल्ने योजनासमेत रहेको स्रोत जिकिर गर्छ ।

अपर तामाकोशी आयोजनाको हालसम्मको लागत ७० अर्ब रुपैयाँ पुगेको छ भने आयोजनाको वार्षिक ब्याज खर्चमात्र करिब ७ अर्ब रुपैयाँ हुन्छ ।

लागत बढेमा कम्पनीले हकप्रद निकाल्नुपर्ने अवस्था आउनसक्ने अवस्था र विश्लेषणलाई नै खेलेर केही खेलाडीको अपरको हकप्रद आउने भन्दै हौवा पिटाउने र मूल्य उचाल्ने खेल भइरहेको बजार स्रोतहरु दाबी  गर्छन् । कोभिड १९ ले सरकार नै थिलथिलो भइरहेको अवस्थामा आयोजनामाथि थप लगानी गर्न हकप्रदको बाटो लिन भने वर्तमान सरकार अनुदार नै हुने देखिन्छ ।

अपर तामाकोशीको सेयरलाई सुरुमा माथि पुर्याइसकेपछि अन्य हाइड्रोपावर कम्पनीलाई पनि माथिल्लो तहमा पुर्याउने योजना अब के होला ? त्यो भने आगामी दिनमा बजारले देखाउने नै छ ।