काठमाण्डौ । दोश्रो बजार मंगलबार स्थिर देखिएको छ । नेप्से परिसूचक ०.७८ अंकले मात्र बढेको हो । 

निकै ठूलो परिमाणमा रहेको अपर तामाकोशीको सेयर मूल्यमा निरन्तर गिरावटका कारण केही दिन ओरालोतर्फ लागेको बजार सो कम्पनीको दैनिकजसोको पहिरो केही कम भएसँगै स्थिर बन्न पुगेको हो । 

योसँगै नेप्सेको अनलाइन प्रणालीप्रतिको विश्वसनीयता लगानीकर्तामा बढ्न सकेको छैन । अनलाइन सिस्टमले थुप्रै कमजोरीहरु देखाइरहँदा लगानीकर्ताले दैनिकजसो हैरानी व्यहोरिरहेका छन् । 

अनलाइन प्रणालीको कमजोरीको फाइदा उठाउने गिरोहहरुले यही बेला खेल्ने कामलाई पनि जारी राखेका छन् । 

यो दिन अपर तामाकोशीको सेयर मूल्य प्रतिकित्ता ३ रुपैयाँले मात्र घट्यो । अघिल्लो दिन मूल्य धेरै घटेर नेगेटिभ सर्किट लागेको थियो । 

यो दिन राम्रा कम्पनीहरुको सेयर मापन गर्ने सूचक सेन्सेटिभ इण्डेक्स ०.४३ अंकले बढेको छ समग्र कारोबार मापक फ्लट इण्डेक्समा ०.११ अंकको बढोत्तरी भएको छ । 

यो दिन बैंकिंग समूह ०.४३ अंकले बढेको छ भने होटल समूहमा १५ अंकको बढोत्तरी भएको छ । विकास बैंक समूह २.८७ अंकले बढेको यो दिन जीवन बिमा समूह ६७.६८ अंकले बढ्यो । यस्तै, माइक्रोफाइनान्स १७.६ अंकले बढ्यो भने निर्जीवन बिमा समूह ०.१९ अंकले बढ्यो ।

यो दिन जलविद्युत समूह ५.१४ अंकले घट्यो भने बित्त समूहमा १.७५ र  उत्पादनमूलकमा ९२.२९ अंकको गिरावट देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५६ कम्पनीका १० लाख २४ हजार ६ सय १५ कित्ता सेयर २९ करोड २२ लाख १४ हजार ३ सय ४५ रुपैयाँमा किनबेच भयो ।
सबैभन्दा बढी अपर तामाकोशीले ५ करोड ४७ लाख बढीको कारोबार गर्यो। 

माछापुच्छे बैंकले १ करोड ६५ लाख बढीको कारोबार गरेको यो दिन नागरिक लगानीकोषले १ करोड ६० लाख, नेपाल बैंकले १ करोड ४ लाख, प्रभू बैंकले ९८ लाख, छिमेक लघुवित्तले ९७ लाख, एनएमबी बैंकले ९० लाख, इन्भेष्टमेन्ट बैंकले ८१ लाख बढीको कारोबार गरे । 

नेपाल लाइफ इन्स्योरेन्सको ७९ लाख बढीको संस्थापक सेयर किनबेच भएको यो दिन प्राइम कमर्सियल बैंकले ७८ लाख बढीको कारोबार गर्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन समता माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयरमूल्य ३.५१ प्रतिशतले बढ्यो ।

कञ्चन डेभलपमेन्ट बैंक लिमीटेडका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लाग्यो । नेपाल हाइड्रो डेभलपर्स लिमीटेडको सेयर मूल्य पनि १० प्रतिशतकै हाराहारीमा घट्यो ।