काठमाण्डौ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आउँदो जेठ १० गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले आयोजना प्रभावित अर्थात् संखुवासभाका स्थानीयलाई १०० अंकित दरका कुल ५ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । यो आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। 

यो आइपीओमा धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको काठमाण्डौको नागपोखरीस्थित कार्यालय र अपर हेवाखोला कम्पनीको काठमाण्डौको अनामनगरस्थित कार्यालयबाट आवेदन दिन सकिन्छ । प्राइम कमर्सियल बैंक, प्रभु बैंक र सिद्धार्थ बैंकको खाँदबारी शाखाबाट अवेदन दिन सकिने व्यवस्था गरिएको छ। 

यसैगरी लगानीकर्ताले ग्लोबल आइएमई बैंकको चैनपुर शाखा, प्राइम बैंकको तुम्लिङटार शाखा र सभापोखरी शाखा र नेपाल बंगलादेश बैंकको पाँचखपन शाखाबाट आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यो आईपीओको निष्कासन बन्द छिटोमा जेठ २४ गते र ढिलोमा असार ८ गते बैंकिङ समयपछि हुनेछ। 

आयोजना प्रभावितहरुलाई निष्कासन गरेको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी निष्कासन गरिने कम्पनीले जनाएको छ।