काठमाण्डौ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज असार २९ गते अन्तिम दिन रहेको छ। 

यो कम्पनीले गत असार २४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ। 

कम्पनीले १०० अंकित दरका कुल १५ लाख कित्ता आईपीओ बिक्री खुला गरेको छ। कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ७५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ३० हजार कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ। बाँकी १३ लाख ९५ हजार कित्ताका लागि सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्। 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा र सीडीएससीको ‘मेरो सेयर’मार्फत आवेदन दिन सक्नेछन्। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्। 

सीडीएससीका अनुसार यो आईपीओमा मंगलबार साँझ ५ बजेसम्म १२ लाख ११ हजार ६८९ आवेदकबाट १ करोड ३८ लाख ७७ हजार ८९० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ९.९५ गुणा बढी हो। 

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी १ लाख ३९ हजार ५०० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।