 
                     
                                
                             
                                    – अर्जुुन तिमिल्सिना
काठमाण्डौ । अहिले सेयर बजारमा चुनावी परिणाम र विश्वकप फुटबलको महासंग्रामका विषयमा निकै चर्चा सुनिन्छ । हिजोआज ब्रोकर हाउसदेखि आसपासका चिया पसलसम्म लगानीकर्ताहरु सेयर बजारभन्दा पनि विश्वकप फुटबल र राजनीतिकै गफमै मस्त रहने गरेको भेटिन्छ।
गत मंसिर ४ गतेदेखि कतारमा विश्वकप फुटबलका खेलहरु सुरु भइसकेका छन्। सुरुआती खेलहरुको नतिजाले यसपालिको विश्वकप फुटबल प्रतियोगिता अघिल्ला संस्करणहरुभन्दा झनै रोमाञ्चक हुने देखिन्छ। गफैगफमा लगानीकर्ताहरु भन्छन्, ‘चुनावी परिणामजस्तै कतारमा चलिरहेको फुटबल प्रतियोगिताको नतिजा पनि धेरैले अपेक्षा गरेभन्दा फरक आउन सक्छ।’
अपर तामाकोशीका सञ्चाल दीपक कार्की अर्जेन्टिना टिम समर्थन गर्छन्। ‘म त अर्जेन्टिनाको बच्चादेखि नै फ्यान हो’, उनी भन्छन्, ‘म गाउँमा हुँदैदेखि अर्जेन्टिनाको खेल धेरै हेर्थें । मेरा धेरै साथीहरु पनि अर्जेन्टिनाका फ्यान छन्।’
पहिले गाउँमा टीभी नहुँदा पनि सिलगुडी पुगेर ३ रुपैयाँ भारु तिरेर भए पनि विश्वकप फुटबल हेरेको अनुभव कार्कीले सुनाए। ‘त्यो समयमा म्यारोडनाले हातले गोल हानेको भन्ने काहानी पनि सुनिन्थ्यो’, उनले भने, ‘त्यो समयमा त्यहाँ धन्न गोर्खाली रहेनछन् भन्ने काहानी पनि खुबै चल्यो । अर्जेन्टिनाले गोर्खालीलाई के भन्छ त्यो महत्व होइन तर मेरो प्राथना छ, अर्जेन्टिनाले नै यसपालिकाको विश्वकप जितोस्।’
त्यसो त कार्की मनपर्ने टोली अर्जेन्टिना अस्तिको खेलमा साउदी अरेबियासँग २–१ गोलले हार्न पुग्यो। ‘अस्तिको नतिजाबारे भन्ने हो भने वास्तवमै साउदी अरेबियाको पनि राम्रै खेलेको हो’, उनले भने, ‘साउदी अरेबियाको खेल सलाम गर्न लायक छ।’
जापान र जर्मनीको खेल पनि उत्कृष्ट नै रहेको कार्की बताउँछन्। ‘साउदी अरब र जापानको खेल हेर्दा त एसियाली मुलुकले यसपालिको विश्वकपको उपाधि उचाल्न सक्ने सम्भावना पनि छ’, उनले भने।
विश्वकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण नेपालबाट हेर्न असहज भएकोप्रति भने कार्कीले गुनासो पोखे। ‘अहिले फुटबल हेर्न ५६५ रुपैयाँ अतिरिक्त तिर्न लगाइएको छ’, उनले भने, ‘अघिल्लो विश्वकप फ्रीमा हेर्न पाइएको थियो। यसपालि फुटबलको नाममा खेलप्रेमीहरुलाई लुट्ने काम भएको छ।’
कार्कीसँग रहेका अर्का लगानीकर्ता राम महत पनि अर्जेन्टिनाका फ्यान रहेछन् । ‘मेरो विचारमा अस्ति हारे पनि अर्जेन्टिनाले यसपालिको विश्वकपको उपाधि चुम्न सक्छ’, महतले भने।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19