काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावर लिमीटेडलाई धितोपत्र बोर्डले १ बराबर १ को अनुपातमा हकप्रद निश्कासनको स्वीकृति दिएको छ छ। 

अपर तामाकोशीलाई शुक्रबार धितोपत्र बोर्डले १०० प्रतिशत हकप्रद सेयर निश्कासनको अनुमति दिएको हो । 

पछिल्लो समय हाइड्रोपावर कम्पनीहरुले हकप्रद सेयर जारी गर्ने लहर नै चलेको छ । हकप्रदकै नाममा दोश्रो बजारमा मूल्यमा हुने चलखेल पनि उत्तिकै तीव्र बनेको छ । तर, यस्ता चलखेलहरुलाई बेवास्ता गर्दै धितोपत्र बोर्डले पनि खुरुखुरु हकप्रद निश्कासनको स्वीकृति दिइरहेको हो । 

हाल अपर तामाकोशीको चुक्तापूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । अब यो कम्पनीले १०० अंकित दरका कुल १० करोड ५९ लाख कित्ता हकप्रद निश्कासनको अनुमति पाएको हो । 

हकप्रद निश्कासनपछि कम्पनीको चुक्तापूँजी २१ अर्ब १८ करोड पुग्नेछ । 

हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल लिमीटेड रहेका छन् । 

दोश्रो बजारमा अपर तामाकोशीको मूल्य बढाएर प्रतिकित्ता ४७४ रुपैयाँ पुर्याइएको छ । हकप्रदको प्रस्ताव स्वीकृत हुने सूचना चुहिँदा यो कम्पनीको सेयरमूल्य अन्तिम कारोबार दिन अर्थात बिहीबार करिब १० प्रतिशतले बढेको थियो । यस्ता सूचनाहरु लिक भएर गिरोहहरुले हाकाहाकी चलखेल गरिरहँदा समेत यस्ता विषय अनुसन्धानमा तानिने गरेको छैन ।