काठमाण्डौ ।  अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयर आगामी मंसिर २८ गते बाँडफाँट हुने भएको छ ।

नागरिक लगानी कोषका पूँजीबजार हेर्ने उपनिर्देशक नारायण प्रसाद घिमिरेले दिएको जानकारी अनुसार कम्पनीको हकप्रद सेयर मंसिर २८  गते बाँडफाँट हुने छ ।

सेयरधनीहरुले अनलाइनभन्दा बढी भौतिकरुपमा आवेदन दिएकाले फारम संकलन गर्न बढी समय लागेको बिक्री प्रबन्धकले बताएको छ ।

यसअघि लगानीकर्ताहरुले कम्पनीको हकप्रद सेयरका लागि आवेदन लिएका समय करिब दुई महिना बितिसक्दा पनि बाँडफाँट नगरेर रकम बन्धक बनाएको गुनासो गर्दै आएका थिए । 

कम्पनीले गत भदौ १८ गतेदेखि आफ्ना सेयरधनीहरुका लागि चुक्तापूँजीको १ः१ अनुपातमा १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो।

यो हकप्रदमा  असोज ७ गतेसम्म आवेदन दिने म्याद थियो। मागबमोजिम आवेदन नपरेपछि हकप्रदमा  असोज २२ गते बैंकिङ समयसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको थियो ।

१०० रुपैयाँ अंकित मूल्यमा कम्पनीले १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद बिक्री खुला गरेको थियो ।
।कम्पनीमा ५१ प्रतिशत सरकार र ४९ प्रतिशत सर्वसाधारणको सेयर स्वामित्व छ। नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल दूरसञ्चारको ६ प्रतिशत तथा नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थाको २–२ प्रतिशत सेयर स्वामित्व छ। 

कम्पनीका अनुसार संस्थापकहरू नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लि (नेपाल टेलिकम), नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानले आफ्नो सेयर अनुपातमा हकप्रद सेयरबापतको रकम शतप्रतिशत चुक्ता गरिसकेका छन्। 

यसैगरी,सर्वसाधारणको १५ प्रतिशत, स्थानीय १० प्रतिशत र २४ प्रतिशत कर्मचारी सञ्चय कोषको सेयर स्वामित्व छ। यो हिसाबले अपर तामाकोशीमा सर्वसाधारण (स्थानीय र कर्मचारी सञ्चय कोषमा आबद्ध कर्मचारीबाहेक) १ करोड ५८ लाख ८५ कित्ता छ भने ३ करोड ६० लाख ६ हजार कित्ता सेयर स्थानीय र कर्मचारी सञ्चय कोषमा आबद्ध कर्मचारीहरुको छ। 

धितोपत्र बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार कम्पनीको हकप्रद सेयरमा स्थानीय र कर्मचारी सञ्चय कोषमा आबद्ध कर्मचारीलाई छुट्याइएको सेयरमा पूर्ण रुपमा आवेदन पर्न सकेको थिएन । 

हाल कम्पनीको चुक्तापूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयरपछि कम्पनीको चुक्तापूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ।
प्राधिकरणले यसरी संकलन भएको रकम सेयरधनीहरूको आम्दानी वृद्धि गर्न रोल्वालिङ खोला विद्युत् आयोजनाको निर्माणमा लगानी गर्ने योजना बनाएको छ ।