काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयर बिहीबार बाँडफाँट भएको छ ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको कार्यालय ज्ञानेश्वरमा नियामक निकाय, निष्कासन कम्पनी, निष्कासन तथा बिक्री प्रबन्धकहरुको उपस्थितिमा कम्पनीको सेयर बाँडफाँट भएको हो ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष तथा सनराईज क्यापिटल लिमिटेडको सह निष्काशन तथा बिक्री प्रबन्धकत्वमा कम्पनीको एक शेयर बराबर एक शेयर (१ः१) का दरले अंकित मूल्य  १०० रुपैयाँ दरको  १० करोड ५९ लाख कित्ता हकप्रद साधारण सेयर बाँडफाँट भएको हो ।

कम्पनीले भदौ १८ गतेदेखि असोज २२ गतेसम्म साबिक सेयरधनीहरुलाई हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

कुल ६ लाख ४३ हजार २९३ जना कायम साधारण सेयरधनीहरुबाट ५करोड १८ लाख ९१ हजार कित्ता सेयर मध्ये भौतिक तथा सिआस्वा मार्फत् आवेदन दिने ३ लाख ३५ हजार २३० जना सेयरधनीहरुबाट जम्मा ३ करोड ४८ लाख ९७ हजार ३९६.३४ कित्ता सेयरका लागि दरखास्त प्राप्त भएकोमा १ हजार २२२ जना सेयरधनीहरुले जम्मा २५ हजार ९२६.३४ कित्ता हकप्रद सेयरको लागि बढी माग गरेका थिए ।

बढी माग भएको २५ हजार ९२६.३४ कित्ता सेयर बाँडफाँटमा समाबेश नगर्ने गरी कायम सेयरधनीहरुलाई हक अनुसार ३ करोड ४८ लाख ७१ हजार ४७० कित्ता हकप्रद सेयरको बाँडफाँट गरिएको बिक्री प्रबन्धकले बताएको  छ।

यसअघि लगानीकर्ताहरुले कम्पनीको हकप्रद सेयरका लागि आवेदन लिएको समय करिब दुई महिना बितिसक्दा पनि बाँडफाँट नगरेर रकम बन्धक बनाएको गुनासो गर्दै आएका थिए ।