काठमाण्डौ । अपी पावर कम्पनी लिमीटेडले आफ्ना सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर(कर बाहेक) वितरणको प्रस्ताव पारित गरेको छ । 

कम्पनीको आइतबार काठमाण्डौमा सम्पन्न १४ औं वार्षिक साधारणसभाले २०७३/७४ को वितरणयोग्य नाफाबाट सेयरधनीलाई ८ प्रतिशतका दरले बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको हो । 

सभाले निकट भविष्यमै १ बराबर २ को अनुपातमा हकप्रद सेयर निश्कासन गरी सिद्धकाली पावर लिमिटेडले निर्माण गर्ने त्रिशुली गल्छि आयोजना र सोलार आयोजनाहरुमा लगानी गर्ने योजना पारित गरेको छ । 

अपी पावर कम्पनी लिमिटेडले ८.५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत आयोजना संचालन गरिरहेको छ भने ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत आयोजना २०७४ चैत्र मसान्त भित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन शुरु गर्ने लक्ष्य लिएर कार्य गरिरहेको छ।

यस कम्पनीलाई नेपाल विद्युत प्राधिकरणले खुल्ला टेण्डर प्रक्रियाबाट निश्कासन गरेको १८ मेगावाट क्षमताका ८ स्थानमा सोलार उर्जा उत्पादन गर्ने अनुमति प्राप्त भएको छ । कम्पनीको उक्त सोलार आयोजनाहरुको विद्युत खरिद बिक्री सम्झौता हुने क्रममा रहेको छ ।