काठमाण्डौ । अपी पावर कम्पनीको सेयरमूल्य समायोजन भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले हकप्रद सेयर निश्कासन प्रयोजनका लागि कम्पनीको सेयरमूल्य समायोजन गरेको हो । 

कम्पनीले ४० प्रतिशत हकप्रद सेयर निश्कासनका लागि बुक क्लोजको मिति तोकेसँगै मूल्य समायोजन भएको हो । समायोजनपश्चात कम्पनीको शेयरमूल्य १९२ रुपैयाँ १४ पैसा कायम भएको छ। 

समायोजनअघि अपी पावरको दोश्रो बजार मूल्य प्रतिकित्ता २२९ रुपैयाँ रहेको थियो । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गर्ने गर्छ । 

कम्पनीले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । 

पछिल्लो समय जलविद्युत कम्पनीहरुमा हकप्रद सेयर निश्कासनको लहर नै चलेको छ । एकपछि अर्को गर्दै प्राय सबै कम्पनीलाई हकप्रद सेयर निश्कासनको आवश्यकताको भने स्वतन्त्र ढंगले कतैबाट पनि पुष्टि हुन सकिरहेको छैन । बरु यस्ता कम्पनीहरुको दोश्रो बजारको मूल्यमा प्रभाव पार्ने गरी धमाधम हकप्रद निश्कासनको स्वीकृति दिने काम भइरहेको छ ।