काठमाण्डौ । तोकिएको समय अवधि भन्दा अगावै जलविद्युत आयोजना बनाउँदै आएको अपी पावर कम्पनी लिमिटेडले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना बनाउने भएको छ । 

यसका लागि अपि पावर कम्पनी र नेपाल विद्युत प्राधिकरणको ग्रिड संचालन विभागबीच साउन २५ गते शुक्रबार ४० मेगावट क्षमताको माथिल्लो चमेलियाको ग्रीड कनेक्शन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

हस्ताक्षरपत्रमा अपि पावर कम्पनीको तर्फबाट कम्पनीका संचालक महेन्द्र न्यौपाने र नेपाल विद्युत प्राधिकरणको ग्रीड संचालक विभागका निर्देशक दिर्घायुकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

यस सम्झौताअनुरुप अपि पावर कम्पनीले निर्माण गर्ने ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविुद्यत आयोजनबाट उत्पादित विद्युत शक्ति बँलाच सवस्टेशनको १३२ के.भि. वसबारमा जडान गरिनेछ । ४० मेगावाटको चमेलिया जलविद्युत आयोजना निर्माण सम्पन्नपछि नेपालको सुदुरपश्चिम क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिइएको छ । 

४० मेगावटको माथिल्लो चमेलिया जलविद्युत आयोजना अपि पावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको तेस्रो आयोजना हो । यसअघि छोटो समयमा(करिब १७ महिनाभित्र) ८.५ मेगावट क्षमताको नौगड गाढ साना जलविद्युत आयोजना सम्पन्न गरी २०७२ साल भदौै महिनादेखि विद्युत प्रवाह गरिरहेको छ । त्यसैगरी, कम्पनीले हाल निर्माण गरिरहेको सोही नदिमा ८ मेगावटको अपर नौगड गाढ जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ । 

यस अपि पावर कम्पनीले जलविद्युतको अलावा १८ मेगावाटको सैर्य उर्जा उत्पादन गर्ने तयारी गरिरहेको छ । यसका लागि नेपाल विद्युत प्राधिकरणले जारी गरेको टेण्डरमा सहभागी भई १८ मेगावाट क्षमताको सोलार आयोजना परेको थियो । कम्पनीले प्राप्त गरेको १८ मेगावट क्षमताको सोलार अयोजना यसै आर्थिंक वर्षभित्र सम्पन्न  गरी राष्ट्रिय प्रशारणलाइनमा जडान गर्ने लक्ष्य राखेको छ ।