– अर्जुन तिमिल्सिना

काठमाण्डौ । पुँजीबजार सुधार र विकासका माग राख्दै गत जेठ २० गतेदेखि लगानीकर्ता आन्दोलनमा छन्। आन्दोलनको नेतृत्व गरिरहेको पुँजी बजार सुधार संघर्ष समितिका संयोजक गत ७ दिनदेखि आमरण अनशनरत छन्। 

सडकदेखि सदनसम्म चर्को बहस भइरहेको पुँजीबजारको पछिल्लो अवस्थाप्रति नेपाल राष्ट्रै बैंक कत्ति पनि चिन्तित देखिँदैन। घट्दो बजारबाट अत्तालिएका लगानीकर्ताहरु अहिले बैंकहरुले धमाधम सेयर बेचिदिन थालेपछि झनै आतंकित बनेका छन्। 

तिनै बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिनुपर्ने एउटा माग लगानीकर्ताहरुले आफ्ना १९ बुँदेमा समेटेका छन्। त्यतिमात्रै होइन हरेक दिनको प्रदर्शनमा लगानीकर्ताहरुले यो मागलाई चर्का–चर्का नारा लगाउँदै उठाइरहेका छन्।

आमरण अनसनमा बसेका तिलक कोइरलाले आफ्ना साथीहरु सँग छलफल चलिरहँदा भन्दै थिए, ‘यो विषय अलि मिलेन साथीहरु ! हामीले बैंकलाई लाइसेन्स दे भन्ने तर बैंकले नै हाम्रो सम्पत्ति बेचेर हाम्रो घाँटी थिच्ने ?’

कोइरालासँगै बसेका रोहन कार्की पनि यो विषय भने सोच्नै पर्ने बताउँदै थिए। 

यही विषयमा आज हामीले लगानीकर्ताका केही नेता र बैंकहरुलाई सोधेका छौँ। 

रोहन कार्की (अध्यक्ष, स्वतन्त्र पुँजीबजार संघ) 

बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स हाम्रो पुरानो माग हो। यो बजार विकास तथा विस्तारका लागि गरेका हौँ। ब्रोकर संख्या कम हुँदा मनपरी भयो भन्ने आधारमा हामीले बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स भनेका हो। प्रतिस्पर्धा हो्स भनेर त्यसो भनिएको हो। 

बजार घटेको बेला अहिले धेरै लगानीकर्ता पीडामा छन्। हामीले क्लाइन्टको मन्जुरी बिना सेयर नबेच्न नेपाल बैंकर्स एसोसियसनसँग आग्रह गरेका छौँ। के–कति फोर्स सेलिङ भएको छ, त्यसको तथ्य लिन बाँकी नै छ। अप्ठ्यारो परेको बेला बैंकले पनि सर्पोट गर्नुपर्छ।

एसपी चौलागाईं (संयोजक, आन्दोलन)

बैंकहरुका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिने माग पुरानो नै हो। २०६२–६३ देखि नै यो विषयलाई उठाइएको हो। बैंकले धितो राखेको सेयर धितो नपुग भएको खण्डमा धितो माग्ने हो। अनुमति बिना बेच्न मिल्दैन। हामीले केही समय पहिला स्टक ब्रोकर्स एसोसयनसँग पनि समन्वय गरेका थियौँ। ब्रोकरहरुको मार्जिन ट्रेडिङमा पनि बेच्न पाउने नियम रहेछ। अहिले ४–१२ को क्यापका कारण फोर्सफुल्ली बेचेको भन्ने सुनिन्छ। मेरो विचारमा बैंकहरुले नै बजार घटाउन लागेको जस्तो देखिन्छ।

मनोज ज्ञावली (बैंकर) 

बैंकले कुनै पनि धितो बेच्ने भनेको अन्तिम समयमा हो। हामी पनि राष्ट्र बैंकको नीतिनियममा चल्नुपर्छ। मार्जिनको विषयमा राष्ट्र बैंकले नै स्पष्ट व्यवस्था गरेको छ। अहिले सेयरको भाउ एक चौथाइले घटेको छ। बैंक पनि डुब्न त भएन। कोही कुँवामा खसेको छ भने डोरी फाल्ने हो, आफैँ कुँवामा पस्न कोही सक्दैन। बैंकले पनि आफ्नो सीमाभित्र बसेर गर्नुपर्छ। ब्याजदर सस्तो महँगो भनेको बजारको मागअनुसार हुने हो। स्थायी तरलता समधानका लागि भने रोजगारमूलक म्रौदिक नीति आवश्यक छ। रेमिट्यान्सको ग्रोथ हुनुपर्छ।