काठमाण्डौ । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज असार २३ गते अन्तिम दिन रहेको छ।

यो कम्पनीले गत असार २० गतेदेखि सर्वसाधारणका लागि १९ करोड ५७ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको छ। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ। 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले कुल १९ लाख ५७ हजार ५०० कित्ता आईपीओ निष्कासन गरेको छ। कुल कित्तामध्ये सामूहिक लगानी कोष ९७ हजार ८७५ कित्ता (५ प्रतिशत) र ३९ हजार १५० कित्ता (२ प्रतिशत) कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी १८ लाख २० हजार ४७५ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

सीडीएससीका अनुसार हिजो बुधबार साँझ ५ बजेसम्म यो आईपीओमा ११ लाख ९ हजार ७६२ आवेदकबाट कुल १ करोड २८ लाख ४६ हजार ९९० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ७.०५ गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। गोलाप्रथाबाट भाग्यमानी १ लाख ८२ हजार ४७ जनाले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनैमध्ये ५ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।

लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सी–आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।