काठमाण्डौ । अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ निष्कासनको पहिलो दिनै ५ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। 

कम्पनीले आज असार १० गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले जारी पुँजीको २२ करोड रुपैयाँको २९.५५ प्रतिशतले हुन आउने ६ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। कम्पनीले त्यसमध्ये १० प्रतिशतले हुन आउने ६५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरिसकेको छ। 

कम्पनीले ५ प्रतिशतले हुन आउने ३२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशतले हुन आउने १३ हजार कित्ता कर्मचारीलाई छुट्याइएको छ। बाँकी ५ लाख ३९ हजार ५०० कित्तामा सर्वसाधारणका लागि आवेदन खुला गरेको हो। 

सीडीएससीका अनुसार आज साँझ २ लाख ५१ हजार ७९९ आवेदकबाट कुल २७ लाख ८७ हजार ६० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ। जुन मागभन्दा ५.१७ गुणाले बढी हो। 

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी ५३ हजार ९५० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। 

अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओको निष्कासन बन्द असार १३ गते बैंकिङ समयपछि हुनेछ।

लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्। 

यो आईपीओको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।