काठमाण्डौ । अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ भोलि शुक्रबार बाँडफाँड गरिने भएको छ। 

बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटलले आईपीओ बाँडफाँड गर्न लागेको हो। आईपीओ बाँडफाँड कार्यक्रम काठमाण्डौको नक्साल नारायणचौरस्थित क्यापिटलको कार्यालयमा बिहान ९ बजे हुनेछ। 

कम्पनीले गत असार १० गतेदेखि असार १३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। 

कम्पनीले जारी पुँजीको २२ करोड रुपैयाँको २९.५५ प्रतिशतले हुन आउने ६ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। कम्पनीले त्यसमध्ये १० प्रतिशतले हुन आउने ६५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरिसकेको थियो। 

कम्पनीले ५ प्रतिशतले हुन आउने ३२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशतले हुन आउने १३ हजार कित्ता कर्मचारीलाई छुट्याइएको थियो। बाँकी ५ लाख ३९ हजार ५०० कित्तामा सर्वसाधारणका लागि आवेदन खुला गरेको थियो। 

निष्कासनको अन्तिम दिनसम्म यो आईपीओमा १२ लाख ८२ हजार ४६३ आवेदकबाट कुल १ करोड ३९ लाख ६४ हजार ७१० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ। जुन मागभन्दा २५.८८ गुणाले बढी हो। 

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी ५३ हजार ९५० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। यो आईपीओमा सवा १२ लाख बढी आवेदकबाट हात खाली हुने भएको छ।