काठमाण्डौ । अप्पर लोहोरे हाइड्रोपावर कम्पनीको आईपीओ आज साउन २९ गते बाँडफाँड गरिएको छ। 

धितोपत्र बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटलको कार्यालयमा अप्पर लोहोरे हाइड्रोपावरको आईपीओ बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम साँझ ५ बजे राखिएको थियो। 

यो कम्पनीले गत साउन १८ गतेदेखि साउन २२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी १९ लाख ५३ हजार २७९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरेको थियो। 

यो आईपीओमा कुल १३ लाख ६१ हजार १५४ आवेदकबाट १ करोड ५३ लाख ४७ हजार ४७० कित्ता सेयर माग भएको थियो। जसमा १२ लाख ८३ हजार ५९६ आवेदकबाट परेको १ करोड ४१ लाख १७ हजार ८५० कित्ता सदर भएको थियो बाँकी ७७ हजार ५५८ आवेदकबाट परेको १२ लाख २९ हजार ६२० कित्ता सेयर माग विभिन्न कारणले रद्द तथा बदर भएका छन्। 

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी १ लाख ९५ हजार ३२७ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। तिनै भाग्यमानीमध्ये थप ९ जनाले १–१ कित्ता सेयर पाएका छन्। बाँकी १० लाख ८८ हजार २६९ आवेदकको हात खाली भएको छ। 

यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। आईपीओको अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक र धितोपत्र निष्कासन गर्ने कम्पनीको वेबसाइट र सीडीएससीको iporesult.cdsc.com.np मा गएर हेर्न सकिन्छ।