काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार पनि बजार दोहोरो अंकले ओरालो लागेको छ।
आज नेप्से परिसूचकमा १८.०७ अंकको गिरावट आएको हो। योसँगै परिसूचक २३८९.१९ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.०७ अंकले घटेर ४३०.०५ को विन्दुमा ओर्लिएको छ। आज सवा ४ अर्ब रुपैयाँको हाराहारीमा सेयर किनबेच भएको छ।
हिमालयन जनरल इन्स्योरेन्सकी पूर्वसञ्चालक नुराकुमारी शर्मा फागुन–चैत महिना सेयर बजारका लागि अफ सिजन भएकोले खासै उत्साह नदेखिएको बताउँछिन्। ‘अहिले बजार घट्नु सामान्य नै हो’, उनले भनिन्।
तत्काल बैंकहरुको ब्याजदर बढ्ने अवस्था नरहेको शर्माको भनाइ छ। ‘बजार चलेको हल्ला जसरी ब्याजदर ह्वात्तै बढ्दैन’, उनले भनिन्, ‘कोरोना महामारीबाट भर्खरभर्खर अर्थतन्त्र चलायमान भइरहेको छ, अर्थतन्त्र मन्दीबाट बाहिर आउँछ’, उनले भने, ‘यस्तो बेला बैंकहरुले कर्जा लगानी बढाए पनि ब्याजदर भने तत्काल बढाउने सम्भावना छैन, ब्याजदर एकल विन्दुमै रहन्छ।’
यो बेला सकभर सेयर होल्ड गर्नुपर्ने सुझाव दिँदै शर्माले भनिन्, ‘अहिले राम्रा र बलिया कम्पनीको सेयर किन्ने अवसर छ, यस्तो बेला बजारबाट बाहिरिने होइन बरु भित्रिनु बुद्धिमानी हुनेछ।’
शर्माले सेयर बजारमा घट्दा किन्ने र बढ्दा बेच्ने बानी भयो भने जीविकोपार्जनका लागि जागिर नै खानुपर्ने अवस्था नआउने बताइन्।
सक्रिय लगानीकर्ता निमानन्द कँडेलको तर्क पनि शर्माजस्तै छ। यो अफ सिजनमा भएकोले यति बेला लगानी बढाउँदै अबको ४–६ महिना राम्रै प्रतिफल गर्न सकिने कँडलेको भनाइ छ। ‘बजार १० प्रतिशतसम्म घट्ने अनुमान थियो, जुन घटिसक्यो’, उनले भने, ‘आगामी केही दिनमै बजार युटर्न लिन्छ।’
यो दिन नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ५ वटामा हरियाली छाएको छ भने ८ वटा समूहमा रातो पोतिएको छ। आज होटेल तथा पर्यटन समूह सर्वाधिक ९०.९३ अंकले उकालो लागेको छ। व्यापार समूह ५५.१ अंकले बढेको यो दिन उत्पादन तथा प्रशोधन समूहमा १०.२ अंक र लगानी समूहमा ०.५३ अंकको बढोत्तरी भएको छ भने म्युचुअल फन्ड समूह ०.५७ प्रतिशतले बढेको छ।
आज निर्जीवन बीमा समूह सबैभन्दा धेरै १९२.६१ अंकले ओरालो लागेको छ। जीवन बीमा समूह १२१.०६ अंकले घटेको यो दिन बैंकिङ समूहमा १७.४१ अंक, विकास बैंक समूहमा ११ अंक, जलविद्युत् समूहमा ०.७८ अंक, वित्त समूहमा ७.२१ अंक, अन्य समूहमा ३८.४३ अंक र लघुवित्त समूहमा २५.२३ अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २१२ कम्पनीका ९६ लाख ४ हजार ५२९ कित्ता सेयर ४ अर्ब २४ करोड ८४ लाख २४ हजार ६६ रुपैयाँमा कारोबार भएका छन्।
यो दिन निफ्राको सर्वाधिक ४३ करोड ६२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। माथिल्लो तामाकोशीको २९ करोड ८३ लाख रुपैयाँबराबरको कारोबार भएको आज नबिल बैंकको १९ करोड ७१ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १२ करोड ९० लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १२ करोड ५७ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १० करोड १५ लाख रुपैयाँ, नेको इन्सुरेन्सको १० करोड ५ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको १० करोड रुपैयाँ, शिखर इन्स्योरेन्सको ९ करोड ९५ लाख रुपैयाँ र नेपाल बैंकको ८ करोड ७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज चन्द्रागिरी हिल्सको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएको छ। यसैगरी यो दिन घलेम्दी हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावर र आँखुखोला जलविद्युत् कम्पनीका सेयरमूल्य पनि ९ प्रतिशत बढीको बढोत्तरी भएको छ।
यो दिन हिमालयन पावर पार्टनरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ६ प्रतिशत बढीको गिरावट आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago