काठमाण्डौ । अबको एक साताभित्रै पेट्रोलियम पदार्थको भाउ घट्ने भएको छ। 

आगामी आर्थिक वर्षको बजेटसम्बन्धी थप जानकारी दिन अर्थ मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले अबको एक साताभित्रै पेट्रोलियम पदार्थको भाउ घट्ने जानकारी गराएका हुन्। 

मन्त्री शर्माका अनुसार छिट्टै पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाइँदैछ। ‘अहिले पेट्रोलियम पदार्थको पूर्वाधार करबापत प्रतिलिटर १० रुपैयाँ लाग्ने गर्छ’, उनले भने, ‘अब यो कर हटाइँदा पेट्रोलियम पदार्थ पनि प्रतिलिटरमा १० रुपैयाँले सस्तो हुनेछ।’

अर्थ मन्त्रालयले सहमति पठाएपछि हाल पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर हट्ने मन्त्री शर्माले जानकारी दिए। ‘अबको एक साताभित्रै कर हटाएपछि पेट्रोलियम पदार्थको भाउ पनि घट्छ’, उनले भने। 

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि अन्तराष्ट्रिय बजारमा मूल्य अचाक्ली बढेसँगै नेपालमा समेत त्यसको प्रभाव पर्ने गरेको छ। नेपालले भारतबाट आयात गर्ने पेट्रोलियम पदार्थको मूल्य पछिल्लो केही सातामै अचाक्ली बढिसकेको छ।

अहिले पेट्रोल लिटरको १८० रुपैयाँ र डिजल तथा मट्टितेल लिटरको १६३ रुपैयाँ छ। भारतबाट आयात हुने दरमा विभिन्न खालका कर समावेश भएका कारण सर्वसाधारणलाई निकै मार परेपछि यसको चौतर्फी विरोध भइरहेको छ। अहिले पेट्रोल प्रतिलिटरमा रु. ६३ कर मात्रै बुझाउनुपर्ने अवस्था रहेको छ।