काठमाण्डौ । भारतीय औषधि कम्पनी सिरम इन्स्टिचुट अफ इन्डिया (एसआईआई) ले अबको ७३ दिनभित्र कोरोनाभाइरसविरुद्धको भ्याक्सिन उपलब्ध हुने खराबमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ।

यसअघि बिजनेस टुडेले एसआईआईले अबको ७३ दिनभित्र कोरोनाविरुद्धको भ्याक्सिन भारतमा उपलब्ध हुने जानकारी गराएको भनी समाचार प्रकाशित गरेको थियो। ‘यो समाचार कुनै सत्यता छैन, कोरोनाविरुद्धको भ्याक्सिन यति नै दिनभित्र आउँछ भनी अड्कल गर्न सकिँदैन’, एसआईआईले आफ्नो वक्तव्यमा भनेको छ। 

एसआईआईले भारत सरकारले आफूहरुलाई अक्सफोर्ड–एस्ट्राजेनेले तयार पारिरहेको कोरोनाविरुद्धको भ्याक्सिन उत्पादन गर्ने अनुमति दिएको भने प्रस्ट पारेको छ । ट्रायलमा भ्याक्सिन प्रभावकारी साबित भएमात्र उत्पादन गरेर बजारमा उपलब्ध गराइने एसआईआईले जानकारी दिएको छ। 

अहिले अक्सफोर्ड–एस्ट्राजेनेको भ्याक्सिनको तेस्रो चरणको ट्रायल भइरहेको छ । ‘जबसम्म हामी आश्वस्त हुँदैनौँ कि यो भ्याक्सिन मानवस्वास्थ्यका लागि खतरा छैन वा यसले विना कुनै हानी प्रभावकारी काम गर्छ तबमात्र बजारमा ल्याइनेछ’, वक्तव्यमा भनिएको छ, ‘बजारमा ल्याउनुअघि हामी यस विषयमा आधिकारिक जानकारी उपलब्ध गराउनेछौँ।’ – एजेन्सी