काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले थप एक समूहगत परिसूचक निर्माण गरेको छ । 

नेप्सेले सामूहिक लगानी कोष(म्युचुअल फण्ड)का सूचिकृत कम्पनीहरुको कारोबार मूल्य मापन गर्ने गरी थप एक समूहगत परिसूचक(सब इण्डीसेस) निर्माण गरेको हो । 

म्युचुअल फण्डको समूहगत परिसूचकलाई नेप्सेको वेबसाइटमार्फत रियल टाइममा प्रसारण हुने व्यवस्था मिलाइएको नेप्सेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

यसअघिसम्म म्युचुअल फण्डको सब–इण्डीसेस बैंकिङ सब–इण्डीसेसअन्तर्गत नै राखिएको थियो । 

नेप्सेले हाल नेप्से, सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इण्डेक्स गणना गरिरहेको छ । यस्तै, सब–इण्डीसेसहरुमा बैंकिङ, ट्रेडिङ, होटल्स, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, जीवन बीमा, नीर्जिवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र अन्य गरी जम्मा ११ वटा रहेका थिए । म्युचुअल फण्डको समेत थप भएपछि अब यो संख्या बढेर १२ पुगेको छ । 

नेप्सेमा हाल १३ वटा म्युचुअल फण्डहरु सूचीकृत भई दोस्रो बजारमा समेत कारोबार भइरहेको छ । 

पछिल्लो  तथ्याङ्क अनुसार ४ वटा म्युुचुअल फण्ड पाइपलाइनमा रहेका छन् भने ३ वटाले निष्कासन अनुमति समेत पाइसकेका छन् । 

निष्कासन गरिएका म्युचअल फण्डहरु सबै बन्दमुखी आयोजना रहेकामा पहिलो खुलामुखी म्युचुअल फण्ड एनआइबीएल सहभागिता फण्डले पनि स्वीकृति पाइसकेको छ । 

सम्बन्धित समाचार:

नेप्सेमा म्युचुअल फण्डको अलग्गै सब–इण्डीसेस थप्ने तयारी