काठमाण्डौ । अब सीडीएससीको छुट्टै वेबसाइटमार्फत सहज ढंगले बिना झञ्झट आइपीओ आवेदन गर्न मिल्ने भएको छ ।

आइपीओ आवेदन गर्दा असहज र झञ्झट हुन थालेपछि सीडीएस एन्ड क्लियरिङ लिमिटेड(सीडीएससी)ले संगठित संस्थाको प्राथमिक सेयर निष्कासनमा आवेदन सहज ढंगले दिन मिल्ने गरी अलग्गै वेबसाइट बनाउने भएको हो । 

नयाँ कम्पनीका आइपीओ निष्कासन हुने अवधिमा सीडीएससीको वेबसाइटमा अत्यधिक भार पर्न थालेपछि अब छुट्टै वेबसाइट बनाउने तयारी भइरहेको सीडीएससीका सीइओ पूर्णप्रसाद आचार्यले जानकारी दिएका छन् । 

आइपीओ निष्कासन हुने अवधिमा पछिल्लो समय सीडीएससीको ‘मेरो सेयर’ पोर्टलमा अधिक पार परेका कारण सिस्टम भेन्डर कम्पनी एफवान सफ्टसँग  छलफल भइरहेको सीइओ आचार्यको भनाई छ । 

आचार्यका अनुसार सीडीएससको सब–डोमेनबाट अब नयाँ कम्पनीका आइपीओ आवेदन गर्ने प्रयोजनार्थ अलग्गै वेबसाइट तयार हुनेछ । ‘मेरो सेयर’ पोर्टलमा हाल सेयर विवरण, पोर्टफोलियो, आइपीओ÷हकप्रद आवेदन, विद्युतीय सेयर हस्तान्तरण(इडीआइएस), भारित औसत लागत गणनालगायत सेवाहरुमा अधिक चाप परेका कारण पनि सीडीएससीको वेबसाइटमा आइपीओ आवेदन दिने बेला रियल टाइम करिब ८० हजार ट्राफिक देखिन्छन् । 

देशभरका ७७ जिल्लाबाटै सहभागिता जनाउन सक्ने सुविधा भएको र थोरै समयमा मनग्यै मुनाफा हुन थालेपछि प्राथमिक बजारमा आकर्षण बढ्दै गइरहेको छ । 

सीडीएससीका अनुसार आज शुक्रबारसम्म ३१ लाख ५८ हजार ७९६ जनाले डिम्याट खाता खोलिसकेका छन् । 

यसैगरी प्राथमिक बजारमा निष्कासित हुने नयाँ कम्पनीका आइपीओ आवेदनमा १८ लाख ५० हजारभन्दा बढीको आवेदन पर्न थालिसकेको छ।

हाल सीडीएससीले आइपीओको नतिजा सबडोमेनमार्फत सार्वजनिक गरिरहेको छ। यसको सुरुआत महिला लघुवित्तको आईपीओ नतिजाबाट गरिएको थियो।