काठमाण्डौ । लामो समयदेखि अन्यौलमा रहेको साधारण सेयरको थप निश्कासन(एफपीओ) र मर्जर वा एक्वीजिसनमा कर लाग्ने व्यवस्था गरेको छ । 

आर्थिक विधेयकमार्फत अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो व्यवस्था गरेका हुन् । 

उनले हालसम्म एफपीओ जारी गर्दा कर नतिरेका, मर्जर वा एक्वीजिसनको क्रममा सेयर स्वाप रेसियो तलमाथि हुँदा प्राप्त हुने बार्गेन गेनको पनि कर नतिरेकाहरुलाई कर छुटको अफर समेत ल्याएका छन् । 

'कुनै निकायले फर्दर पब्लिक अफरिंग(एफपीओबाट) प्रिमियम मूल्यमा सेयर जारी गरी प्राप्त भएको रकममध्ये आर्थिक वर्ष २०७८/७९ सम्म हिताधिकारीलाई  बोनस सेयरको रुपमा वितरण गरेको लाभांश रकमलाई आयकर ऐन २०५८ को दफा ५६ को उपदफा ३ बमोजिम आयमा समावेश गरी कर दाखिला नगरेको भए उक्त रकममा लाग्ने कर सम्वत् २०८० साल मंसिर मसान्तभित्र दाखिला गरेमा सोमा लाग्ने शुल्क तथा ब्याज मिनाहा हुनेछ ।' विधेयकमा भनिएको छ-'निकायहरु आपसमा गाभिदा वा प्राप्ति(मर्जर वा एक्वीजिसन)मा सौदाबाजी गर्दा प्राप्त लाभ(बार्गेन पर्चेज गेन) बापतको आयलाई कर प्रयोजनका लागि आयमा समावेश गरी कर दाखिल नगरेको भए आर्थिक वर्ष २०७८/७९ सम्मको त्यस्तो आयमा लाग्ने कर सम्वत् २०८० साल मंसिर मसान्तभित्र दाखिल गरेमा सोमा लाग्ने शुल्क तथा ब्याज मिनाहा हुनेछ ।'