काठमाण्डौ । नेपाल बांगलादेश बैंक लिमिटेडले कनेक्ट आईपीएसमा खाता लिंक गरी भेरिफाई गराउने सम्पूर्ण प्रक्रियालाई स्वचालित गरी अन्लाइनबाटै गर्न सकिने व्यवस्थाको थालनी गरेको छ।

यो व्यवस्थासँगै बैंकका ग्राहकहरुले अन्लाइनबाटै कनेक्ट आईपीएसमा आफ्नो खाता भेरिफाई  गराउन सक्नेछन् भने बैंकको शाखा नै पुगेर फारम बुझाई भेरिफाई गराउने बाध्यताको पनि अन्त्य भएको छ।

ग्राहकले कनेक्ट आईपीएसमा ‘लिंक अकाउन्ट’ भित्र आफ्नो खाता लिंक गरिसकेपछि ‘सेल्फ भेरिफाई अकाउन्ट’ मा क्लिक गरी खातालाई भेरिफाई गराउन सक्ने बैंकले जनाएको छ। यस प्रक्रियामा ग्राहकको विवरण, वान टाइम पासवर्ड (ओपीटी) र माइक्रो डिपोजिट्सका आधारमा सुरक्षित रुपमा अनलाइन भेरिफिकेसन हुने व्यवस्था  रहेको छ।

नेपाल बांगलादेश बैंकबाट सुरुआत गरिएको यस व्यवस्थालाई अन्य सदस्य बैंक वित्तीय संस्थाहरुमा पनि चाँडै नै सुरुआत गर्न आवश्यक तयारी भइरहेको बताइएको छ।

अनालाइनबाटै कनेक्ट आईपीएसमा खाता लिंक  गर्ने सुविधाले हालको महामारीले निम्त्याएको लकडाउनको बिषम परिस्थितिमा पनि ग्राहकले घरमै बसी सहज तरिकाले फन्ड ट्रान्सफरलगायतका अन्य भुक्तानीहरु खाताबाटै गर्न सकिने भएको छ। बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले कनेक्ट आईपीएसको वेबसाइट www.connectips.com, यसको मोबाइल एप, बैंक तथा वित्तीय संस्थाको मोबाइल/इन्टरनेट बैंकिङमा रहेको कनेक्ट आईपीएस तथा विभिन्न क्रेडिटरहरुको वेबसाइटमा पेमेन्ट गेटवेका रुपमा जोडिएको कनेक्ट आईपीएसमार्फत सोझै बैंक खाताबाट भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ।