काठमाण्डौ । नेपाल क्लियरिङ हाउसद्वारा सञ्चालन गर्दै आएको एनसीएचएल बैंक सेन्ट्रल तथा कर्पोरेटपे प्रणालीमार्फत गरिने सरकारी राजस्व भुक्तानीसम्बन्धी On-us (पठाउने र पाउने बैंक तथा वित्तीय संस्था एउटै रहेको खण्डमा) भुक्तानीको प्रतिकारोबार सीमा वृद्घि गरिएको छ।

विभिन्न सरकारी निकाय तथा बैंक वित्तीय संस्थाको समन्वय एवं नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात कारोबार सीमा वृद्धि गरिएकोमा अब बैंक तथा वित्तीय संस्थाका ग्राहकले सरकारी राजस्व भुक्तानी गर्दा एनसीएचएल बैंक सेन्ट्रलमार्फत On-us मा रु. २ अर्बसम्म र कर्पोरेटपेमार्फत पब्लिक नेटवर्कबाट On-us मा रु. १ करोड र प्राइभेट नेटवर्कबाट On-us मा रु. ५ करोडसम्म गर्न सक्नेछन्। 

वृद्धि गरिएको प्रतिकारोबार सीमा पठाउने र पाउने बैंक तथा वित्तीय संस्था एउटै रहेको खण्डमा लागू हुनेछ भने पाउने र पठाउने बैंक तथा वित्तीय संस्था फरक रहेको खण्डमा हाल कायम रहेको नन रियल टाइम भुक्तानी रु. ३० करोडसम्म र रियल टाइम भुक्तानी रु. २० लाखसम्म नै लागू हुनेछ।  

थप गरिएको कारोबार सीमाले नेपाल सरकारको डिजिटल माध्यमबाट राजस्व संकलन गर्ने पहललाई थप टेवा पुग्ने अपेक्षा गरिएको छ। विशेषत नेपाल सरकार अन्तरिक राजस्व विभाग, भन्सार विभाग जस्ता ठूला रकम भुक्तानी गर्नुपर्ने निकायहरुका लागि यो सुविधा थप प्रभावकारी हुनेछ।

एनसीएचएलले हाल कनेक्टरआईपीएस, कर्पोरेटपे, बैंक सेन्ट्रलका साथै विभिन्न सदस्य बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ तथा विभिन्न मोबाइल वालेटमार्फत पनि सरकारी राजस्व संकलन गर्ने सेवा विस्तार गर्दै आएकोमा चालू आर्थिक वर्षको फागुन महिनाको मध्यसम्म एनसीएचएलमार्फत रु. ३४ अर्बबराबरको राजस्व संकलन भइसकेको छ।   

एनसीएचएलले एनसीएचएल–ईसीसी, एनसीएचएल–आईपीएस, कनेक्टआईपीओस, कनेक्टआरटीजीएस, एनपीआई, कर्पोरेटपेलगायत विभिन्न भुक्तानी तथा फर्छ्यौटका प्रणालीहरु सञ्चालन गर्दै आएको छ भने हाल यसले क्यूआरलगायतका कार्डरहित भुक्तानीको विस्तारका निम्ति नेसनल पेमेन्ट स्विच पनि कार्यान्वयनमा र ल्याएको छ। 

हाल एनसीएचएलमा ६० बैंक तथा वित्तीय संस्था आबद्ध रही ५ हजार ७०० भन्दा बढी बैंक शाखामार्फत यसका विभिन्न सेवा सञ्चालन हुँदै आएका छन्। यसमा ८७ वटा गैरबैंकिङ संस्था इन्डाइरेक्ट÷टेक्निकल सदस्यका रुपमा जोडिएका छन्।