– भक्तराज रसाइली
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले स्टक ब्रोकरहरुको शाखा विस्तारभन्दा पनि आधिकारिक प्रतिनिधिमार्फत बजार विस्तारलाई जोड दिने भएको छ।
हाल प्राथमिक बजारको पहुँच ७७ जिल्लामा पुगेको र ७५३ स्थानीय तहमध्ये ७४० स्थानीय तहसम्म प्राथमिक बजारको पहुँच पुगेको बोर्डले जनाएको छ। बजार विस्तारसँगै अब दोस्रो बजारको पहुँचसमेत सबै स्थानीय तहमा चाँडै नै पुर्याइने बोर्डका सहप्रवक्ता रुपेश केसीले जानकारी दिए। प्राथमिक बजारको पहुँच सबै जिल्लामा पुगिसकेकाले अब दोस्रो बजार पनि सबै ठाउँ पुर्याउने विषयमा अध्ययन भइरहेको उनको भनाइ छ। आर्थिक चलायमान र ब्रोकरहरुको स्थायीत्वलाई जोड दिँदै ब्रोकर शाखाभन्दा आधिकारिक प्रतिनिधिमार्फत नै बजार विस्तार गर्ने योजना रहेको उनले सुनाए।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार हाल ५० ब्रोकर कम्पनीका देशका मुख्य सहरहरुमा ४७ वटा शाखामार्फत ब्रोकरेज सेवा दिइरहेका छन्।
यता स्टक ब्रोकरहरुले समेत २ वर्षअघि नेपाल धितोपत्र बोर्डसमक्ष काठमाण्डौ उपत्यकासहित मोफसलमा थप २०० शाखा विस्तार गर्न आवेदन दिएका थिए। ब्रोकर कार्यालयको मापदण्ड निकै खर्चिलो भएको र मितव्ययी नभएकाले समेत शाखा विस्तार गर्दा कार्यालयको मापदण्ड संशोधन हुनुपर्ने ब्रोकरहरुले आवाज उठाइरहेका छन्।
स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष भरत रानाभाटले ब्रोकर कार्यालयको आवश्यक मापदण्ड नघटाइएकाले यसै आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश भएको ब्रोकरको आधिकारिक प्रतिनिधि मोडल नै उपयुक्त रहेको बताए। आधिकारिक प्रतिनिधिको मोडलले तीव्र गतिमा बजारको विस्तारमा सघाउन पुर्याउने उनको तर्क छ। ‘हामी ब्रोकरलाई शाखा विस्तार गर्न दिए पनि हामी जान्छौँ तर अर्को विकल्प एजेन्सी मोडल नै उपयुक्त हुन्छ’, रानाभाटले भने, ‘ब्रोकर कम्पनीको क्षेत्रीय स्तरका कार्यालयमार्फत आधिकारिक प्रतिनिधिमार्फत दोस्रो बजारको विस्तार पहुँच सबै स्थानीय निकायमा पुर्याउन सकिन्छ।’
नेपाल राष्ट्र बैंकले समेत बैंक तथा वित्तीय संस्थाहरुलाई सबै स्थानीय तहमा बैंकिङ प्रणालीमा जोड्न सहुलियत र छुटको व्यवस्था गरेजस्तै ब्रोकर कम्पनीहरुलाई समेत देशभर शाखा विस्तार गर्न नियामक धितोपत्र बोर्डले ब्रोकर कम्पनीलाई विभिन्न सहुलियत र छुटको व्यवस्था दिइनुपर्ने जानकारहरु बताउँछन्। पछिल्लो समय ठूला कम्पनीहरुको आईपीओ आइरहेको र देशभरका प्रायः स्थानीय तहमा समेत प्राथमिक बजारको पहुँच विस्तार भइरहेकाले सहज रुपमा सेयर खरिदबिक्री गर्न मध्यस्थकर्ताका रुपमा ब्रोकरको उपस्थिति अति नै आवश्यक भइसकेको जानकारहरु जिकिर गर्छन्।
सबै स्थानीय तहमा इन्टरनेटको पहुँच नपुगेका कारण प्राथमिक बजारबाट सेयर खरिद गरेकाहरुले दोस्रो बजारमा बिक्री गर्न कठिनाइ भइरहेको लगानीकर्ताहरुको गुनासो छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago