काठमाण्डौ । देशभरका निजी प्रयोगशालाहरुले पनि कोरोना संक्रमणको परीक्षण गर्न पाउने भएका छन् । 

निजी ल्याबहरुलाई कोरोना संक्रमणको परीक्षण गर्न सक्ने व्यवस्थासहितको एक निर्देशिका स्वास्थ्य मन्त्रालयले जारी गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कोभिड १९ परीक्षण गर्ने प्रयोगशालाका न्यूनतम मापदण्डको बारेमा ‘इन्टरिम गाइडलाइन फर दि स्ट्याबलिसमेन्ट एण्ड अपरेसनलाइजेसन अफ मोलिकुलर ल्याब्रोटरी फर कोभिड १९’ नामको निर्देशिका जारी गरिएको जानकारी दिए । योसँगै यो निर्देशिका बमोजिम मापदण्ड पूरा गर्ने निजी प्रयोगशालालाई पनि कोभिड १९ को परीक्षण गर्ने बाटो खुलेको छ। ‘तर त्यसका लागि मन्त्रालयसँग छुट्टै अनुमति लिनुपर्ने हुन्छ ।’ डा. देवकोटाले भने । 

हाल मुलुकभर सरकार मातहतका पीसीआर परीक्षण गर्ने प्रयोगशालाको संख्या १६  पुगेको छ । 

निजी ल्याबहरुलाई समेत संक्रमणको परीक्षणको अनुमति दिएपछि परीक्षणको क्रम अझ तीव्र बन्ने मन्त्रालयको अपेक्षा छ । 

हालसम्म सरकारले पीसीआर विधिबाट १० हजार ४७१, आरडिटीबाट ४३ हजार ६३ जनाको परीक्षण गरिसकेको छ । गत २४ घण्टामा २ हजार १८४ जनाको परीक्षण भएको बताइएको छ । हालसम्म सबैभन्दा बढी सुदुरपश्चिम प्रदेशमा ११ हजार ९६१ जनाको नमूना परीक्षण भइसकेको छ । 

यसैगरी, बागमति प्रदेशमा ७६२६, प्रदेश नम्बर २ मा ५२०८, कर्णाली प्रदेशमा ५१२८, प्रदेश १ मा ४५४५ र प्रदेश ५ मा ३४७१ जनाको नमूना परीक्षण भइसकेको छ । 

यसरी हेर्दा कोरोना संक्रमणको हटस्पट बनेको प्रदेश १ नै नमूना परीक्षणमा चौथो नम्बरमा देखिएको छ । यसले यहाँ नमूना परीक्षणको गतिलाई तीव्र पार्नुपर्ने आवश्यकता देखाएको विज्ञहरु बताउँछन् ।