काठमाण्डौ । निजी मेडिकल कलेजहरुले पनि पीसीआर परीक्षण गर्न प्रयोगशाला सञ्चालन गर्न पाउने अनुमति पाएका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले बुधबार निजी मेडिकल कलेजहरुलाई पीसीआर परीक्षण गर्नका लागि प्रयोगशाला सञ्चालन गर्न अनुमति दिएको हो। त्यसका लागि निजी मेडिकल कलेजहरुले कोभिड–१९ को पीसीआर परीक्षण निर्देशिका, २०७७ अनुसार प्रयोगशालाको मापदण्ड पूरा गरेको हुनुपर्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले स्पष्ट पारेको छ।

यसअघि कोरोना संक्रमित बिरामीलाई उपचार सेवा प्रदान गर्दै आएका निजी मेडिकल कलेजहरुले आफैँले पीसीआर परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न पाउनुपर्ने माग राख्दै आएका थिए। उनीहरुको मागलाई सम्बोधन गर्दै यस्तो अनुमति दिइएको हो। 

निर्देशकाका अनुसार पीसीआर परीक्षण गर्ने अनुमति पाउन निजी मेडिकल कलेजहरुले कुल बेड संख्याको एक तिहाइ कोरोना संक्रमित बिरामीका लागि छुट्याउनुपर्ने जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ।