काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अब नेपालमै विद्युतीय गाडी उत्पादन थाल्नुपर्ने सुझाव दिएका छन्।

अर्थ मन्त्रालयका नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्व प्रतिनिधिमण्डसँगको छलफलमा अर्थमन्त्री पौडेलले यस्तो सुझाव दिएका हुन्। छलफलमा मन्त्री पौडेलले नेपालमा विद्युतीय सवारीसाधनको प्रशस्त सम्भावना देखिएको भन्दै अब अटोमोबाइल व्यवसायीहरुले नेपालमै विद्युतीय सवारीसाधनको उत्पादन थाल्नुपर्नेमा जोड दिए। उनले त्यसका लागि आवश्यक नीतिनियमहरुको तर्जुमा आफूले गरिदिने पनि बताए। 

छलफलमा नाडाका अध्यक्ष दुलालले नाडाले फेयर ट्रेड विश्वास गर्दै आएको बताए। उनले सवारीसाधनहरुको आयातको सन्दर्भमा देखिएका विभिन्न समस्याहरुबारे छलफल गरेका थिए। 

छलफलमा नाडाका उपाध्यक्ष तथा सवारीसाधन समितिका सभापति करण चौधरीले आर्थिक वर्ष २०७७/७८ को बजेटले नेपालमा आधिकारिक बिक्रेता नभएका कुनै कम्पनीले सवारी वा ढुवानीका साधन पैठारी गरेमा त्यस्ता सवारीसाधन तथा ढुवानी साधनको मूल्यको ३० प्रतिशत जरिवाना गरी जाँचपास गर्न सकिनेछ भन्ने नयाँ व्यवस्थाले उत्पादक कम्पनीद्वारा नियुक्त जुनसुकै बिक्रेताबाट पनि सवारीसाधन आयात गर्नसक्ने अवस्था कायम रहन गई उत्पादक कम्पनीको कुनै जानकारी वा दायित्व नै नरहने अवस्था उत्पन्न भएको बताए।

नाडाका महासचिव तथा स्पेयर पार्टस समितिका सभापति सुनिल रिजालले स्पेयर पार्टसको आयातको सन्दर्भमा देखिएका समस्याहरुबारे अर्थमन्त्री पौडेललाई जानकारी गराएका थिए। 

छलफलमा नाडाका निवर्तमान अध्यक्ष शम्भुप्रसाद दाहाल, उपाध्यक्ष आकाश गोल्छा, सचिव अनुप बराल र सहकोषाध्यक्ष विक्रम सिंहानिया पनि उपस्थित थिए।