– प्रकाश न्यौपाने

काठमाण्डौ । केही समयदेखि सेयर बजार साइडवेजमा चलिरहेको छ। 

नियामक निकायका नीतिगत व्यवस्था र तरलता संकटका कारण गत भदौमा हालसम्मकै उच्च विन्दु चुमेको बजार लगातार ओरालो लागेको थियो। अहिले तरलता पनि सहज हुँदै गएको र अर्थतन्त्रमा सुधार हुँदै जाँदा बजार भने लयमा फर्किन सकेको छैन। 

बजारलाई नजिकबाट निहालिरहेकाहरु भने लगानीकर्ताको ध्यान यतिबेला नयाँ सरकार गठनमा रहेकोले बजारमा तीव्र उतारचढाव हुन नसकेको बताउँछन्। नयाँ सरकार गठन र अबको अर्थमन्त्रीका विषयमा लगानीकर्ताको चासो निकै बढेको उनीहरुको भनाइ छ। 

त्यसो त राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनलाई आह्वान गरिसकेकी छन्। उनले दलहरुलाई पुस १० गतेसम्म नयाँ सरकार गठन गर्न समयसीमा दिएकी छन्।

स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष रोहन कार्की पुँजीबजार विकास र विस्तारका लागि नयाँ सरकारले उचित नीति–नियम ल्याउनुपर्ने बताउँछन्। ‘बजारमा सुधार हुन मुख्यगरी ब्याजदर घट्नुपर्छ र तरलता सहज हुनुपर्छ’, उनले भने, ‘यसका लागि नयाँ सरकारले उचित पहल गर्नुपर्छ।’ 

सरकारले पुँजीबजारबाट उठाउने पुँजीगत लाभकरलाई घटाउनुपर्ने पनि कार्कीको भनाइ छ। ‘सेयर धितो कर्जामा सरकारले लचिलो र सहज नीति ल्याउनुपर्छ’, उनले भने, ‘यसो भएको खण्डमा बजारले गति लिन सक्छ।’

पुँजीबजार दबाब समूहका महासचिव नयन बास्तोला नयाँ सरकार गठनको पर्खाइमा लगानीकर्ताहरु रहँदा बजार सुस्त बनेको बताउँछन्। ‘अहिले सीडी रेसियो पनि ८६ प्रतिशतभन्दा तल आइसकेको छ, यसले तरलता सहज हुँदै गएको संकेत गर्छ’, उनले भने, ‘तर, बजार बढ्न सकेको छैन। यसको मतलब राष्ट्र बैंकले नेपालको अर्थतन्त्रलाई असर पर्ने गरी नीति ल्याएको हुनाले घर–जग्गाको कारोबार र सेयर बजारमा ठूलो असर परेको हो।’

अहिले बजार घट्दा लाखौँ लगानीकर्ता बिचल्लीमा परेको बास्तोला बताउँछन्। ‘अब बन्ने सरकारले पुँजीबजारमैत्री नीति बनाउन पहल गर्नुपर्छ’, उनले भने, ‘अब बन्ने प्रधानमन्त्रीले अर्थतन्त्री र गभर्नरलाई मिलाएर लैजान सके र अबको अर्थमन्त्री लगानीको वातावरण बनाउन सक्ने र बाह्य लगानी भित्र्याउन सक्ने हुनुपर्छ।’

त्यस्तो अर्थमन्त्रीले मात्र देशको अर्थतन्त्र बलियो बनाउन सक्ने बास्तोलको तर्क छ। ‘अर्थतन्त्र सबल भएमात्र पुँजीबजारको विकास र विस्तार हुनेछ’, उनले भने। 

कार्की र बास्तोलाले भनेजस्तै अब बन्ने अर्थमन्त्री अर्थतन्त्र बुझेको र पुँजीबजारलाई नजिकबाट निहालिरहेका व्यक्ति हुनुपर्ने आवाज अहिले लगानीकर्ताहरुमाझ उठिरहेको छ।