– प्रकाश न्यौपाने

काठमाण्डौ । नेपालको सेयर बजार लामो समयदेखि घट्दो क्रममा रहेको छ। उच्च विन्दुबाट बजार करिब १३५० अंकले तल झरिसकेको छ। 

घट्दो बजारमा लगानी गरेका प्रायः सबै लगानीकर्ता घाटामा छन्। लगानीकर्ताको चासो अहिले ‘अब कहिले बढ्ला बजार ?’ भन्ने नै छ।

बजार यसरी घट्नुमा लगानीकर्ताले विशेषगरी राष्ट्र बैंकको नीति मुख्य कारण रहेको बताउँदै आएका छन्। बजार सुस्त हुँदा ब्रोकर हाउसहरु पनि सुनसान हुँदै गएका छन्। एसियन सेक्युरिटिज (ब्रोकर नं. २६) डिस्प्ले हलमा भेटिएका पुराना लगानीकर्ता निर्मल रानाभाट भन्छन्, ‘अब १८०० को आसपासमा राम्रा कम्पनी छानेर लगानी गरे वैशाखसम्म २० प्रतिशतभन्दा माथि नाफा कमाउन सकिन्छ।’

नाफा कमाउन सक्ने आधारहरु देखाउँदै रानाभाट भन्छन्, ‘नयाँ सरकार गठन हुँदैछ, नयाँ अर्थमन्त्री पनि आउनेछन्। नयाँ अर्थमन्त्रीको भूमिका बजारप्रति सकारात्मक हुने लगानीकर्ताको आशा छ।’

यसैगरी माघदेखि सरकारको विकास खर्च बढ्दै जाने पनि रानाभाटले बताए। ‘एउटै विन्दुमा लामो समयसम्म बजार रहँदा ठूला लगानीकर्ता बजार पस्ने गर्छन्’, उनले भने, ‘विगतका बियरिसमा पनि यस्तै गतिविधि हुँदै आएको थियो।’

लामो समय झरेको बजारमा बेला–बेला बढोत्तरी आउने सेयर बजारको ब्युटी नै रहेको रानाभाट बताउँछन्। ‘राष्ट्र बैंकका गभर्नर र अर्थमन्त्रीको लडाइँका कारण लगानीकर्ता चेपुवामा परेका हुन्’, उनले भने, ‘अब आउने नयाँ अर्थमन्त्रीले पक्कै पुराना अर्थमन्त्रीले लिएको गलत बाटोलाई पछ्याउने छैनन्।’

अर्का लगानीकर्ता अनिल फुयाँल ब्याजदर घट्न नसक्नुले पनि बजार बढ्न नसकेको बताउँछन्। ‘राष्ट्र बैंकले बैंकहरुलाई ज्वाइँसरी पालेर राखेको छ’, आक्रोशित हुँदै उनले भने, ‘बैंकहरुले चर्को ब्याज असुली गर्दा पनि राष्ट्र बैंकले कुनै कारबाही गरेको छैन।’ 

ब्याजदर उच्च भएकोले अब यहाँभन्दा माथि जाने सम्भावना भने नरहेको फुयाँल बताउँछन्। ‘तरलता सहज हुँदै गएको छ, उद्योगी–व्यापारीहरुले चर्को ब्याजदरविरुद्ध आवाज उठाइरहेका छन्’, उनले भने, ‘त्यसैले अब ब्याजदर बढ्ने सम्भावना छैन।’

अब बन्ने सरकारले पनि उद्योगी–व्यवसायीको मागलाई सम्बोधन गर्न सक्ने फुयाँल बताउँछन्। ‘जसले गर्दा ब्याजदर अब घट्ने सम्भावना छ’, उनले भने। 

अर्का लगानीकर्ता गोपीकृष्ण गजुरेल नयाँ सरकार गठनसँगै बजार फर्किनेमा आशावादी छन्। ‘लामो समयदेखि विभिन्न नीतिगत व्यवस्थाले बजार थला परेको छ’, उनले भने, ‘अब बन्ने सरकारबाट आमलगानीकर्ता आशावादी छन्।’