– भक्तराज रसाइली

काठमाण्डौ। नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले मापदण्ड पूरा नगर्ने ब्रोकरलाई निलम्बन गर्ने भएको छ।

नेप्सेले तोकेको मापदण्ड पूरा नगर्ने ब्रोकरको कारोबार निलम्बन गर्ने तयारी भइरहेको नेप्से स्रोतले बतायो। ‘हामीले दिएको निर्देशन अक्षरशः पालना भए/नभएको भनी १५–२० दिन पर्खिन्छौँ’, स्रोतले बिजशालासँग भन्यो, ‘रिसोर्स नपुर्याउने ब्रोकरलाई कारोबार निलम्बन गर्ने तयारी भइरहेको छ।’

ब्रोकरहरुले केवाईसी खाता प्रविष्टि गर्दा गलत डिम्याट खाता नम्बर र ग्राहकको नामथर तथा ठेगाना नै गलत प्रविष्टि गरिदिँदा लगानीकर्ताहरु सेयर खरिदबिक्री गर्नबाट बञ्चित भइरहेको व्यापक गुनासो आएपछि नेप्सेले गत शुक्रबार सदस्य दलाललाई सातबुँदे निर्देशन दिएको थियो। नेप्सेले तोकेको मापदण्ड कडाइपूर्वक ब्रोकरले कार्यान्वयमा चुकेमा त्यस्ता ब्रोकरको कारोबार निलम्बन नै गरिने स्रोतको भनाइ छ।

हाल कारोबार राफसाफ गर्दा फण्ड उपलब्ध गराउन नसके ब्रोकर ३ दिनका लागि कारोबार निलम्बनमा पर्दछन्। यसअघि पनि दिएको निर्देशन ब्रोकरहरुले पूर्ण बेवास्ता र अटेरी गरेको भन्दै नेप्से अब कडाइका साथ प्रस्तुत हुने भएको बुझिएको छ।

नेप्सेले गत शुक्रबार पूर्ण अनलाइन कारोबार प्रणालीमा ब्रोकरको टीएमएसमा आवश्यक हार्डवेयर तथा दक्ष प्राविधिक जनशक्ति चुस्तदुरुस्त राख्नुपर्ने र लगानीकर्तालाई कुनै समस्या भए तत्काल समाधान गर्न हेल्प डेस्क स्थापना गर्नुपर्नेलगायत सातबुँदे निर्देशन दिएको थियो।