काठमाण्डौ । सरकारले देशभरका मेडिकल कलेज (शिक्षण अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु) लाई अनिवार्य रुपमा कोभिड क्लिनिक सञ्चालन तथा कोरोनाको उपचार गर्न निर्देशन दिएको छ। यसअघि कतिपय मेडिकल कलेज र निजी अस्पतालहरुले कोरोनाको उपचार गर्न मानेका थिएनन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल कलेज, शिक्षण अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान, २५ वटा हब अस्पताल, सबै तोकिएका अस्पताल र प्रादेशीक अस्पताल एवं प्रदेशअन्तर्गतका सबै अस्पतालमा अनिवार्य रुपमा कोरोनाको उपचार गर्न निर्देशन दिएको हो। मन्त्रालयले तोकेको प्रोटोकल अनुसार उनीहरुलाई कोरोनाको उपचार गर्न पनि भनेको छ। 

मन्त्रालयले तोकिएका मेडिकल कलेज, अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिड क्लिनिकको अतिरिक्त अन्य आकस्मिक उपचार सेवाहरु साविकबमोजिम नै प्रदान गर्न निर्देशन दिएको छ। त्यस्तो सेवा प्रदान गर्दा कार्यरत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरु, बिरामी र बिरामीका आफन्तहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर आवश्यक मिलाउन पनि मन्त्रालयले भनेको छ। 

अन्य अस्पतालहरुको हकमा आकस्मिक उपचार तथा एक्युट केयर प्रदान गर्नुपर्ने स्वास्थ्य सेवाहरु यथावत सञ्चालन गर्न मन्त्रालयले निर्देशन जारी गरेको छ।