-भक्तराज रसाइली 
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले मोबाइल एप्सबाटै धितोपत्र खरिदबिक्री गर्ने व्यवस्था गर्ने भएको छ ।

नेप्सेको अनलाइन प्रणालीमा रहेको टीएमएस(ट्रेडिङ मेनेजमेन्ट सिस्टम)को प्रयोग गरी हाल ब्राउजरमार्फत मात्र धितोपत्र किनबेच गर्न सकिने व्यवस्था छ । यसको अर्थ डेस्कटप वा मोबाइलमा ब्राउजर खोलेर मात्र टीएमएसमार्फत अनलाइन धितोपत्र कारोबार गर्न सकिन्छ भन्ने हो । 

हाल नेप्सेले मोवाइल एप्स संचालनमा ल्याए पनि त्यसबाट कारोबार गर्न मिल्दैन । हालको एप्सबाट मार्केट लाइभ, मार्केट डेप्थ लगायतका फिचर्स मात्र हेर्न सकिन्छ । हालको एप्स टिएमएसको फिचर भने जोडिएको छैन । अब बनाउन लागिएको एप्समा भने आवश्यक सबै फिचर्स जडान गरी यहीँबाट कारोबार पनि गर्न मिल्ने व्यवस्था हुन लागेको हो । 

स्रोतका अनुसार सेयर किनबेच गर्न मिल्ने टीएमएसको मोबाइल एप्स तयार हुन लागेको हो । यो एप्स एण्ड्रोइडका लागि गुगल प्लेस्टोर र आइफोनका लागि एपस्टोरबाट डाउनलोड गर्न सकिने व्यवस्था मिलाइँदैछ । 

टीएमएसको एप्स बढीमा ६ महिनाभित्रै संचालनमा ल्याउने तयारी थालिएको नेप्सेस्थित स्रोतले जनाएको छ । 

यो व्यवस्थापछि आफ्ना ब्रोकरबाट नेप्सेको अनलाइन लगइन लिएका कारोबारीहरुले मोबाइल एप्सबाटै धितोपत्र किनबेच गर्न सक्नेछन् । हाल टीएमएसमै भएका सेवासुविधाहरु नै मोबाइल एप्समा पनि उपलब्ध गराउने नेप्सेको तयारी छ । 

नेप्सेको वार्षिक नीति तथा कार्यक्रममै समावेश भएको यो नयाँ व्यवस्था सम्बन्धी अध्ययनप्रतिवेदन मंगलबार नेप्से व्यवस्थापनलाई बुझाइएको स्रोतको दाबीसमेत छ । 

अब नेप्सेको सञ्चालक समितिमा एप्स निर्माणका लागि छलफल गरिने र त्यसका लागि सार्वजनिक खरिद नियमावलीबमोजिम टेण्डर आह्वान हुने बताइएको छ ।

बुलिस बजारमा छोटो समयमा अधिक मुनाफा कमाउन लालायित लगानीकर्ताहरु आफैंले धितोपत्र किनबेचको अर्डर अनलाइनबाट सहज रुपमा तुरुन्तै राख्न पाउने भएकालेसमेत अनलाइन कारोबार प्रणालीमा आकर्षण बढ्दै गइरहेको देखिन्छ । अनलाइन कारोबारकै कारणसमेत संस्थागत लगानीकर्ताहरुको उपस्थिति बढ्दा बजारकै आकारसमेत बढेको जानकारहरु बताउँछन् । 

नेप्सेकै अनलाइन कारोबारको लगइन लिई हाल बिदेशमा रहेका नेपाली लगानीकर्ताहरुले समेत धितोपत्र किनबेच गरिरहेका छन् । विदेशका नेपालीले अनलाइनबाटै दैनिक करोडौंको कारोबार समेत यही माध्यमबाट गरिरहेका ब्रोकर बताउँछन् ।  

विस्तारै प्रविधिमैत्री बन्दै गइरहेको दोस्रो बजारमा एप्सबाटै सहजै सेयर किनबेच हुने व्यवस्था भएमा बजारको विस्तारमा थप टेवा पुग्ने बताइन्छ । 

गत फागुन ८ गते नेप्सेद्वारा जारी विज्ञप्तिलाई आधार मान्ने हो भने पछिल्ला दैनिक कारोबारमध्ये एकतिहाई कारोबार अनलाइनबाट भइरहेको छ । 

दोस्रो बजारमा धितोपत्र कारोबार गरिरहेका वा गर्न इच्छुक लगानीकर्तालाई सदस्य दलाल व्यवसायी(ब्रोकर)मार्फत अनलाइनको युजर नेम र पासवर्ड निःशुल्क उपलब्ध गराउने व्यवस्था पनि हाल कार्यान्वयनमा छ ।