काठमाण्डौ । मध्य युरोपेली मुलुक अस्ट्रियामा अरुको सहयोग लिएर इच्छामृत्यु रोज्न पाउने कानुन कार्यान्वयनमा आएको छ।

असाध्य रोग लागेका वा कमजोर शारीरिक अवस्थामा पुगेका वयस्कहरुले यो सातादेखि अरुको सहयोग लिएर इच्छामृत्यु रोज्न पाउने प्रावधानको प्रयोग गर्न पाउने भएका हुन्। संवैधानिक अदालतको निर्देशनपछि गत महिना त्यहाँको संसद्ले यससम्बन्धी कानुन बनाएको थियो। तर यो अभ्यासलाई कडा नियमन गरिने जनाइएको छ। 

इच्छामृत्युका प्रत्येक निर्णयलाई दुई चिकित्सकले मूल्यांकन गरेपछि मात्रै स्वीकृति दिइने जनाइएको छ। ती चिकित्सकमध्ये एकजना प्यालीअटिभ केअर अर्थात् गम्भीर रोग हुँदा उपलब्ध गराइने विशेष हेरचाहसम्बन्धी विशेषज्ञ हुनुपर्छ।

मानिसहरुले अन्य विकल्प रहेसम्म मृत्यु नरोजुन् भनेर सरकारले त्यस्तो हेरचाहका लागि कोषमा रकम विनियोजन गरेको अधिकारीहरुले बताएका छन्।

अस्ट्रियाको छिमेकी स्विट्जरल्यान्डमा यसअघि नै वैधानिक छ। स्पेन, बेल्जियम र नेदरल्यान्डसहित धेरै युरोपेली मुलुकमा इच्छामृत्युको यो तरिकालाई अपराध मानिँदैन।

यद्यपि चिकित्सकको अनुमतिबिना अरुको सहयोग लिएर गरिने इच्छामृत्यु अस्ट्रियामा अझै पनि गैरकानुनी छ। नयाँ कानुनले बालबालिका र मानसिक समस्या भएका व्यक्तिहरुलाई इच्छामृत्यु रोज्न रोक लगाएको छ।

आफ्नो जीवन अन्त्य गर्न चाहने वयस्कहरुले आफ्नो स्वास्थ्य परीक्षण गरेर आफ्नो निर्णय आफैँ लिन सक्षम भएको निश्चित गर्नुपर्नेछ।

दुई चिकित्सकबाट अनुमति पाएपछि पनि मानिसहरुले आफ्नो निर्णयबारे पुनर्विचार गर्न १२ हप्तासम्म पर्खिनुपर्नेछ। निको भएका बिरामीले पनि दुई हप्तासम्म आफ्नो निर्णय पुनर्विचारका लागि पर्खिनुपर्ने व्यवस्था छ।

यो प्रतीक्षा अवधिपछि पनि इच्छामृत्यु रोज्न दृढ देखिए उनीहरुले वकिल वा नोटरीलाई जानकारी गराएर औषधि पसलबाट प्राणघातक औषधि लिन पाउँछन्।

अस्ट्रियामा कसैलाई आत्महत्यामा सहयोग गर्नेलाई ५ वर्षसम्म सजाय हुने कानुनी व्यवस्था छ। तर संघीय अदालतले एक वर्षअघि ‘मानिसहरुले आत्मनिर्णयको अधिकार कुण्ठित भएको’ ठहर गर्दै अरुको सहयोग लिएर गरिने इच्छामृत्युमा लगाइएको पूर्ण प्रतिबन्ध हटाउन आदेश दिएको थियो।

संसद्बाट नयाँ कानुनी व्यवस्था पारित हुनुअघि केही विपक्षी दलहरुले इच्छामृत्यु रोज्नेहरुलाई अझै पनि धेरै कानुनी झन्झट रहेको बताएका थिए। –बीबीसीबाट