काठमाण्डौ । अब शिक्षण संस्थामा प्रवेश गर्न विद्यार्थीले अनिवार्य रुपमा खोप कार्ड देखाउनुपर्ने भएको छ। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरुका लागि जारी ७ बुँदे सूचनामा विद्यार्थीलाई शिक्षण संस्था प्रवेश गर्न अनिवार्य रुपमा खोप कार्ड देखाउनुपर्ने नीति लिएको हो। ‘माघ ७ देखि शिक्षण संस्थामा प्रवेश गर्ने सबैले खोप कार्ड अनिवार्य रुपमा साथमा राख्ने प्रबन्ध सम्बन्धित शिक्षण संस्थाले मिलाउनुपर्नेछ’, सूचनामा उल्लेख छ।

पुस २७ देखि माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको मन्त्रालयले बिदा अवधिमा विद्यालयका प्रधानाध्यापकले स्थानीय तहमा रहेको स्वास्थ्यचौकीसँग सम्पर्क गरी १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोही पनि नछुट्ने गरी खोप लगाउने अभियानमा आवश्यक समन्वय र सहजीकरण गर्न आग्रह गरेको छ। १८ वर्षभन्दा माथिका विद्यार्थी, शिक्षक तथा कर्मचारीले पनि खोपका लागि स्थानीय तहमा रहेको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्ने सूचनामा भनिएको छ। 

अर्को सूचना जारी नभएसम्म अभिभावक दिवस वा वार्षिक उत्सवजस्ता सार्वजनिक कार्यक्रम नगर्न पनि विद्यालयलाई मन्त्रालयले आग्रह गरेको छ।