काठमाण्डौ। पर्यटकीय नगरी सौराहालाई डिजिटल बजारका रुपमा घोषणा गरिएको छ। 

क्यूआर भुक्तानीलाई तीव्र रुपमा अगाडि बढाइरहेको कुमारी बैंक लिमिटेड र फोनपे पेमेन्ट सर्भिस लिमिटेडको सहकार्यमा सौराहा बजारलाई डिजिटल बजार घोषणा गरिएको हो। सौराहामा शनिबार एक कार्यक्रमकाबीच रत्ननगर नगरपालिकाका प्रमुख नारायण बनले उद्घाटन गरे। योसँगै सौराहाका हरेक पसलमा क्यूआरमार्फत भुक्तानी गर्न सकिन्छ। 

क्यूआरमार्फत भुक्तानी गर्न सकिने भएसँगै सौराहा घुम्न जाने पर्यटकलाई नगद रकम बोक्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ।

कार्यक्रममा रत्ननगर नगरपालिका प्रमुख बनले पर्यटकीय नगरी सौराहालाई डिजिटल बजारका रुपमा विकास गर्न पाउँदा आफूहरुलाई खुसी लागेको बताए। उनले आर्थिक कारोबार डिजिटल हुँदा सुशासन र पारदर्शीता कायम हुने बताए। 

नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी  निर्देशक  भुवन कँडेलले व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरेका थिए। कँडेलले नगदरहित कारोबारले मुलुकको अर्थतन्त्रमा पनि ठूलो टेवा पुग्ने बताए। कार्डलगायतका भुक्तानीले बर्सेनि अर्बौं रुपैयाँ विदेशिने गरेको उल्लेख गर्दै उनले क्यूआर भुक्तानीले सोही रकम स्वदेशमै रहने भएकाले आफूहरुले प्राथमिकतामा राखेको बताए। 

कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले क्यूआर प्रविधिको प्रयोगसँगै व्यवसायीको व्यापार व्यवसायमा पनि वृद्धि हुने बताए। उनले व्यवसायीहरुले बैंकिङ माध्यमबाट कारोबार गर्दा उनीहरुलाई ऋण तथा अन्य सुविधाका लागि पनि व्यवसायीलाई सहयोग पुग्ने बताए। 

कार्यक्रममा बैंक तथा फोनपेका तर्फबाट सञ्चालक समितिका सदस्यहरु र व्यवस्थापनका कर्मचारीहरुको पनि उपस्थिति थियो। 
कुमारी बैंक लिमिटेड टेक्नोलोजिमा आधारित बैंकिङलाई प्रवद्र्धन गर्ने अग्रणी बैंक हो। बैंकले देशभर रहेका १९२ शाखा, १३ वटा एक्सटेन्सन काउन्टर तथा २२ वटा शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आएको छ।  

फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो। फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् भने २ लाख ६० हजारभन्दा बढी मर्चेन्ट रहेका छन्। १ करोड २५ लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढी भुक्तानी सेवाप्रदायकका मोबाइल एपमार्फत  यसले सेवा प्रदान गर्दै आएको छ। 

फोनपे विश्व विख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सुरक्षा मापदण्ड’ पीसीआई डीएसएस भीथ्री.टु.वान प्रमाणीकरण प्राप्त संस्था हो।