काठमाण्डौ। विश्वव्यापी महामारी कोरोनाभाइरसबाट यतिबेला १९२ मुलुक प्रभावित भइसकेका छन्। अहिलेसम्म पनि यो संक्रमणविरुद्धको भ्याक्सिन वा औषधि तयार भइसकेको छैन।
थुप्रै मुलुकले आआफ्नो तबरबाट भ्याक्सिन बनाउने कोसिस गरिरहे पनि बजारमा आइपुग्न निकै लामो समय लाग्ने देखिएको छ। यस्तो अवस्थामा यदि कसैलाई यो भाइरसको संक्रमण देखिएमा आइसोलेसनमा राख्ने वा यो भाइरसबाट बच्न क्वारेन्टाइनमा बस्ने उपायमात्र सार्वजनिक भइरहेका छन्।
शरीरमा रोगसँग लड्ने क्षमता भएकाहरुलाई यो भाइरसको संक्रमण लागिहाले पनि निको भएर फर्किएका हजारौँ छन्। तर जो अन्य जटिल रोग वा दीर्घबाट प्रभावित छन् उनीहरुमा यो भाइरसले आक्रमण गरेमा बचाउनलाई निकै कठिन साबित भइरहेको छ।
हालसम्म विश्वमा यो भाइरसबाट १४ हजार ६१६ जनाको ज्यान गइसकेको छ। यतिबेला चीनभन्दा इटालीमा यो भाइरसले भयावह रुप लिएको छ। यदि कसैलाई यो भाइरसको संक्रमण लागेको छिटोभन्दा छिटो पत्ता लगाउन सकियो भने पनि प्राथमिक उपचारबाट निको पार्न सकिने स्वास्थ्यविज्ञहरु बताउँछन्।
अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले भर्खरै यो भाइरसको डायग्नोस्टिक टेस्टको मन्जुरी दिएको छ। यो टेस्टका माध्यमबाट कोही पनि मानिस यो भाइरसको चपेटामा परेको छ वा छैन भन्ने कुरा ४५ मिनेटमै पत्ता लाग्छ।
क्यालिफोर्नियास्थित सेफिड नामक कम्पनीद्वारा विकसित यो टेस्टको परीक्षणको मन्जुरीसँगै अब कम समयमै संक्रमित मानिस पत्ता लगाउन निकै सहज हुने अनुमान गरिएको छ। जसका कारण छिटोभन्दा छिटो संक्रमित मानिसको उपचारमा सहयोग पुग्नेछ।
कम्पनीले यो टेस्ट यही मार्च ३० बाट सुरु गर्ने योजना बनाएको छ। सेफिडद्वारा विकसित यो टेस्ट विश्वभरका २३ हजारभन्दा बढी स्वचालित जिन एक्सपर्ट सिस्टम्सद्वारा डिजाइन गरिएको हो।
अमेरिकाको स्वास्थ्य एवं मानव सेवा सचिव एलेक्स अजारका अनुसार चिकित्सकको बढ्दो मागलाई ध्यानमा राखेर कोरोना महामारीसँग लड्न तथा बिरामीको दैनिक परीक्षणलाई ध्यानमा राखेर यो रियल टाइमा यो टेस्ट निकै फलदायी साबित हुनेछ। अहिलेको परिस्थितिमा कोरोना जाँचका लागि स्वास्थ्य सुविधामा परेको दबाब कम गर्न पनि यो टेस्ट निकै मद्दतगार साबित हुने एलेक्सको भनाइ छ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago