- भक्तराज रसाइली

काठमाण्डौ । भारित औसत लागत विधि गणना सहजताका लागि सीडीएस एन्ड क्लियरिङ लिमिटेडले अन्ततः ‘मेरो सेयर’ पोर्टलमार्फत नयाँ फिचर थप गरी सेवा सुचारु गरेको छ ।

साउन १ गतेयता लाभकर घोषणाका लागि ब्रोकर कार्यालय गई औँठाछाप लगाउनुपर्ने बाध्यता अन्त गर्दै सीडीएससीले हिजो सोमबार साझबाट सेवा प्रारम्भ गरेको हो । गत साउन १ गतेबाट प्रारम्भ भएको लाभकर गणनाका लागि नयाँ विधि भारित औसत लागत विधि अव्यवहारिक भएको थियो ।

चौतर्फी तीव्र विरोधपश्चात नेपाल धितोपत्र बोर्डले आवश्यक सिस्टम तयार पार्न सीडीएससीलाई दिएको निर्देशनबमोजिम अब लगानीकर्ता ब्रोकर कार्यालय नगई 'मेरो सेयर' पोर्टलमार्फत नै भारित औसत यकिन गर्न र प्रमाणसहित आफ्नो लागत गणना गर्न सक्नेछन् ।

'मेरो सेयर' पोर्टलको डिजाइनसमेत परिवर्तन गर्दै सीडीएससीले ड्यासबोर्ड अझ सूचनामूलकसमेत बनाएको छ। सिस्टममा उपलब्ध लागतमा चित्त नबुझे प्रमाणसहित रिमार्कसमा यकिनसाथ आफ्नो लागत खुलाउनेसमेत व्यवस्था बनाएको सीडीएससीले एकपटक मात्रै परिवर्तन गर्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ ।