काठमाण्डौ । बिक्रीको अधिक चापले सेयर बजार क्र्यास हुने अवस्थामा पुुगेको छ । लगातार ओरालो लागेको बजारमा साताको पहिलो कारोबार दिन सोमबार ६५.४४ अंकले परिसूचक घटी १३०९.७० अंकमा आइपुुगेको हो । बजारमा बिमा कम्पनीका लगानीकर्ताहरुको लगानी चौपट भएको छ भने १२३ कारोबार भएकोमा ११८ कम्पनीका लगानीकर्तामा रुवाबासी मच्चिएको छ । 

बजारमा तीव्र गिरावट भई लगानीकर्ताहरुको करोडौं डूूबेसँगै त्रासको वातावरण सिर्जना भएको छ । बजार बढ्ने आशामा विभिन्न कम्पनीको सेयर होल्ड गरेर बसेकाहरु समेत टाट पल्टिने अवस्थामा पुुगेका छन् । बजारमा लगानीकर्ताको मनोवल उच्च गतिमा गिरेको छ भने लगानी गर्न चाहनेहरुले समेत असुरक्षित महसुस गर्न थालेका छन् । 

स्टक ब्रोकर एशोसिएसनका पूर्व अध्यक्ष अञ्जनराज पौड्यालले हालसम्म बजार परिसूचक तीव्र गतिमा तल झरे पनि टर्नओभरको साथ रहेकोले तत्काल नै बजार क्र्यास भइहाल्छ भन्न नमिल्ने बताए । ''तर परिसूचकमा गएको पहिरोसँगै टर्नओभरमा पनि उच्च गिरावट आयो भने त्यो बेला बजार क्र्यास हुने संभावना देखिइयो ।'' पौड्यालले भने-''परिसूचकसँगै कारोबारमा पनि तीव्र गिरावट आएको अवस्थामा बजारमा बिक्रेताहरुमा मात्र बाँकी रहन्छन्, क्रेता हुँदैनन् ।'' 

उनले तत्काल बजार बढ्ने संभावना नदेखिएको उल्लेख गर्दै यस्तो अवस्थामा बजार स्थिर नै भयो भने पनि त्यो ठूलो कुरा हुनेमा जोड दिए । 'टर्नओभर नघटेसम्म बजार स्थिर हुने आशा रहिरहन्छ ।' उनले थपे-'अब टर्नओभरको समग्र बजारलाई कस्तो साथ रहन्छ भन्ने कुराले भविष्य निर्धारण गर्ने देखियो ।' 

उनका अनुसार विगत केही महिनाको अन्तरालमा एकैदिन बजार परिसूचक ५ प्रतिशतको हाराहारीमा घटेको थिएन । 

पछिल्लो समय एफपीओ र आइपीओको लहर आएसँगै दोश्रो बजारका लगानीकर्ताहरु घट्दो बजारमा घाटा सहनुको साटो त्यसतर्फ आकर्षित छन् । एफपीओ र आइपीओमा ठूलो पूँजी फसेको छ । अन्य कम्पनीले समेत एफपीओ र आइपीओ ल्याउन तयारी थालेका कारण आगामी दिनमा बजारलाई त्यसले थप हिट गर्ने देखिन्छ । 

कतिपय लगानीकर्ता वाणिज्य बैंकहरुले छोटो अवधिका लागि अफर गरेको १२ प्रतिशतसम्मको ब्याज लिएर ढुक्कले बसेका छन् । योसँगै विभिन्न बैंक तथा बित्तीय संस्थामा सेयर भएकाहरुलाई समेत पूँजी वृद्धिको चटारोले हकप्रदमा पैसा लगाउनुपर्दा आफ्नो नामको सेयर बिक्री गरी पैसा संकलनमा लागेका देखिन्छन् । तरलता अभावका कारण बैंकबाट ऋण पाउने अवस्था क्षीण बन्दै गएको छ भने बैंकहरुले मार्जिन कल गर्दा भएको सेयर पनि सस्तोमा बिक्री गरेर ऋण तिर्नुपर्ने बाध्यतामा लगानीकर्ता परेका छन् । यी समग्र कारणले बजारलाई क्र्यास हुने बाटोतर्फ उन्मुख गराइरहेको पौड्यालको दाबी छ । 

उनका अनुसार सोमबारको बजारमा एकैदिन यति ठूलो गिरावट आउनु पछाडिको कारण बिमा समितिका नयाँ अध्यक्षको अभिव्यक्ति समेत रहेको दाबी गरे । बिमा समितिका अध्यक्षले जीवन र निर्जीवन बिमा कम्पनीहरुको चुक्तापूँजी वृद्धि तत्काल आवश्यक नरहेको प्रतिक्रिया दिएपछि चुक्तापूँजी वृद्धिको मुद्धा प्रक्रियामा रहेको भन्ने भ्रम चिरिएको र त्यो आशामा बसेका लगानीकर्ताहरुको जहाज डूूब्ने अवस्थामा पुुगेका छन् । 'बिमा कम्पनीको चुक्तापूँजी वृद्धिको बिषयमा बजारमा अन्यौल थियो, यो अवस्थामा तत्काल वृद्धि आवश्यक नरहेको बिमा समितिका अध्यक्षको भनाईले सोमबार बिमा समूहमा ठूलै पहिरो गयो ।' पौड्यालले भने-'पछिल्लो कालमा बजार बढेर १८८१ को उचाईमा पुुग्नु पछाडिको एउटा मुख्य कारण बिमा कम्पनीको चुक्तापूँजी वृद्धि हुनसक्ने खबर नै थियो । तर अब त्यो संभावना नरहेपछि बिमा कम्पनीहरुले ठूला पहिरोहरुको सामना गर्नुपरेको हो ।' सोमबार बिमा समूहको परिसूचक ८.७ प्रतिशतले घट्यो ।

लगानीकर्ताको जहाज डूूबेको बजार
सोमबार धेरै लगानीकर्ताको जहाज डूूब्यो । बिमा, वाणिज्य बैंक, होटल र बित्त कम्पनीहरुले ठूलै पहिरोको सामना गरे । बिमा समूहको परिसूचक ५४६.५५ अंकले घट्यो भने वाणिज्य बैंकमा ६०.५५ अंकको गिरावट देखियो । होटल र बित्त समूह क्रमशः १२८.४८ र ३५.९२ अंकले घटे । यस्तै, विकास बैंक समूह ४८.९९ अंकले घट्यो भने जलविद्युत ७३.०९ र अन्य समूहमा १५.०४ को गिरावट देखियो । 

'क' वर्गका कम्पनीको कारोबार मापन गर्ने सूचक सेन्सेटिभ इण्डेक्स १४.४१ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ४.८२ अंकको गिरावट देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
सोमबार १२३ कम्पनीका ११ लाख २६ हजार ३ सय ६५ कित्ता सेयर ५३ करोड ६५ लाख रुपैयाँमा किनबेच भयो । सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ९० लाखको कारोबार गर्यो । यस्तै, एनबी बैंकले २ करोड ८० लाख, सिद्धार्थ बैंकले २ करोड ७७ लाख, प्रभूू बैंकले २ करोड ४४ लाख, बैंक अफ काठमाण्डू लुम्बिनी लिमीटेडले २ करोड ६ लाख बढीको कारोबार गरे । धेरै कारोबार १० कम्पनीको सूचिमा ८ स्थानमा वाणिज्य बैंक र बाँकी २ स्थानमा बिमा कम्पनीको कब्जा रह्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
सोमबार कारोबार भएका १२३ कम्पनीमध्ये ५ कम्पनीको सेयर मूल्य मात्र उकालो लाग्यो । बाँकी १ सय १८ कम्पनीको सेयर मूल्यमा पहिरो गयो । बियरिस मार्केटमा समेत अरुण फाइनान्सले ५.५ प्रतिशत सम्पत्ति कमायो भने ओरिएन्टल होटल लिमीटेडको सेयर मूल्य २ प्रतिशतको हाराहारीमा वृद्धि भयो । बाँकी ३ कम्पनीको सेयर मूल्य १ प्रतिशतले पनि बढेन । 

सोमबार २७ कम्पनीका सेयरधनीमाझ ठूलै रुवाबासी भयो । यीमध्ये पनि धेरै गुमाउनेमा बिमा कम्पनी अगाडि देखिए ।  यी कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा घट्यो । प्रूडेन्सियल इन्स्योरेन्स, मुक्तिनाथ विकास बैंक, हिमालयन जनरल इन्स्योरेन्स, सोल्टी होटल लिमीटेड, सगरमाथा इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, नेपाल ग्रामीण विकास बैंक, समीट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले घट्यो । यस्तै, यूनाइटेड इन्स्योरेन्स, नागरिक लगानी कोष, प्रभूू इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल, प्रिमियर इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक, स्वाललम्बन विकास बैंक, नेको इन्स्योरेन्स, एनबी इन्स्योरेन्स, सानाकिसान विकास बैंक, नेपाल इन्स्योरेन्स कम्पनी लिमीटेड, अपी पावर कम्पनी लिमीटेड, रिदी हाइडोपावर कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, डिप्रोक्स डेभलपमेन्ट बैंक, जेबिल्स फाइनान्स, सेञ्चुरी कमर्सियल बैंक र कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा घट्यो ।