काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ निष्कासनको पहिलो दिन नै साढे ५ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। 

यो लघुवित्तले आज साउन १८ गतेबाट १०० रुपैयाँ अंकित दरका कुल ९ लाख ७५ हजार कित्ता आईपीओ बिक्री खुला गरेको छ। जसमा ५ प्रतिशतले हुन आउने ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने १२ हजार ५०० कित्ता सेयर कर्मचारीरुका लागि छुट्याइएको छ। बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म यो आईपीओमा ४ लाख ३८ हजार २५५ आवेदकबाट कुल ५१ लाख २८ हजार ४१० कित्ता सेयर खरिद आवेदन परेको छ। जुन माग ५.६१ गुणा बढी हो।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने निश्चित भएको छ। गोलाप्रथाबाट ९१ हजार ३७५ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। 

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय र मेरो सेयरमार्फत आवेदन दिन सक्छन्।

अभियान लघुवित्तको आईपीओमा यही साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ। यो अवधिसम्म मागबमोजिम आवेदन नपरेको खण्डमा भदौ १ गतेसम्म खुला गरिनेछ। 

अभियान लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।