काठमाण्डौ । आफूलाई भारतको खास मान्छे भनेर चिनाउने र सरकार परिवर्तनका खेलमा आफ्नो भूमिका निर्णायक हुने भन्दै गफ लगाउने कांग्रेसका सांसद अमरेशकुमार सिंह आफ्नै निर्वाचन क्षेत्रमा नराम्ररी पिटिएका छन् । 

सर्लाही जिल्लाको उनले निर्वाचन जितेको क्षेत्रनम्बर ६ स्थित डुमरिया भन्ने गाउँको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा पेलेर अगाडि बढ्न खोज्दा उनले रामधुलाई भेटेका हुन् । 

उनलाई तराई मधेश सद्भावना पार्टीका नेता शिवपूजन यादव नेतृत्वको समूहले कुटपिट गरेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै सर्लाहीका पत्रकारहरुले बताएका छन् । उनीहरुका अनुसार कुटपिटबाट अमरेशकुमार सिंहको नाक र मुुख फुटेको छ । 

घटना विवरण अनुसार शुक्रबार डुमरिया विद्यालयमा व्यवस्थापन समितिको चुनाव थियो । यो क्षेत्रमा अमरेशले चुनाव जिते पनि शिवपूजनको राम्रो प्रभाव रहेको छ । विद्यालय व्यवस्थापन समितिको चुनावमा अमरेशले आफ्ना मनपर्ने व्यक्तिलाई अध्यक्षमा लैजान पेलेपछि हल्लाखल्ला भएको थियो । सो क्रममा उनले आफूले नै प्रचण्डलाई प्रधानमन्त्री बनाएको, प्रहरी प्रशासनका हाकिमहरु आफ्नो इशारामा नाच्ने भएकोले गाउँमा मलाई पेल्ने तिमीहरु को हौ ? भनेर थर्काएका थिए । उनीसँग निर्वाचनमा पराजय व्यहोरेको बदला लिन शिवपूजनले यही मौकालाई उचित ठाने र आफ्ना कार्यकर्ताको साथ लिएर ''गाउँमा आएर फूूइँ लडाउने ? ठूलो पल्टिने ? दादागिरी देखाउने'' भन्दै कुटेका थिए । सो क्रममा शिवपूजनले अमरेशलाई मुक्का र लात्तीले हानेका थिए । कार्यकर्ताले समेत त्यसमाथि मुक्का थपेपछि अमरेश गम्भीर घाइते भएका बताइएको छ । 

सांसदले नै रगतपच्छे हुने गरी कुटाई खाएपछि व्यवस्थापन समितिको अध्यक्ष चुन्न आएका विद्यालयका अभिभावकहरुको भागदौड मच्चिएको थियो । कुटाई खाएर सख्त घाइते उनलाई स्थानीय कार्यकर्ता र केही समयपछि त्यहाँ आएको प्रहरीले बचाएको थियो । उनको उपचार भइरहेको बताइएको छ ।