काठमाण्डौ । हजारौं युवाहरुको सपनाको देश अमेरिकाले सन् २०१९ का लागि डाइभर्सिटी भिसा(डिभी) कार्यक्रमका लागि मंगलबारदेखि आवेदन खुलाउने भएको छ । 

नेपालस्थित अमेरिकी दूताबासले एक विज्ञप्तिजारी गर्दै सन् २०१९ का लागि असोज १७ गते मंगलबार अर्थात अक्टोबर ३, २०१७ देखि डिभीमा आवेदन खुल्ने जानकारी दिएको हो । अक्टोबर ३(असोज १७) नेपालको स्थानीय समय अनुसार रातको ९ः४५ बजेदेखि डिभीका लागि आवेदन दिनसकिने बताइएको छ । आगामी कात्तिक २१ अर्थात नोभेम्बर ७, २०१७ सम्म आवेदन दिइसक्नुुपर्नेछ । 

दूतावासका अनुसार डिभीका लागि कुनै पनि आवेदन शुल्क पर्ने छैन । उसले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन, बरु आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिन सर्वसाधारणलाई सुुझाव दिएको छ ।

कसरी भर्ने आवेदन ?
माथि उल्लिखित समयअवधिभित्र www.dvlottery.state.gov मा गई ईडिभीको आवेदन दिनुुपर्नेछ । आवेदनको क्रममा पतिपत्नी, आवेदनको समयमा २१ वर्ष नपुुगेका सबै अविवाहित सन्तानको विवरण उल्लेख गर्नुपर्नेछ । फोटो हालसालै खिचिएको हुनुपर्ने र अघिल्लो वर्षको डिभी भर्दा प्रयोग भएको फोटो यसवर्षका लागि अमान्य हुने दूताबासले प्रष्ट्याएको छ । सही तरिकाले सबै विवरणसहित फर्म भरेर अनलाइन दर्ता(सब्मिट) गरिसकेपछि कन्फर्मेसन नम्बरसहितको पत्र प्रिन्ट गर्नुपर्छ । यही नम्बरको आधारमा पछि डिभी परेको या नपरेको थाहा हुन्छ । 

डिभी परेको कसरी थाहा पाउने ?
दूूताबासका अनुसार डिभीका लागि छनोटमा परेको या नपरेको कुरा कुनै फोन वा इमेलबाट थाहा हुँदैन । त्यस्ता हल्ला तथा फोन गरेर अनावश्यक लाभ लिनसक्ने गिरोहको पछाडि नलाग्न समेत सचेत गराइएको छ । बरु, रिजल्ट थाहा पाउनको लागि मे १, २०१८(२०७५ वैशाख १८) वा त्यसपछि www.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेसन नम्बरका आधारमा सहजै रिजल्ट हेर्न सकिनेछ ।