काठमाण्डौ । नेपालको बजारमा क्रिप्टोकरेन्सीको कारोबार हुने गरेको समाचार नयाँ होइन। समय–समयमा क्रिप्टोकरेन्सीमार्फत करोडाँै कारोबार हुने गरेको तथ्य सार्वजनिक भइरहेकै छन्। 

यसैबीच अमेरिकामा बसेर नेपाललगायत एसियाली मुलुकहरुमा क्रिप्टो सञ्जाल फैलाइरहेको पाइएको छ। अमेरिकी नागरिक डेब्रा अनाले नेपालमा सामाजिक सञ्जालमार्फत नेपालीलाई प्रलोभनमा पार्ने गरेकी छिन्। डेब्राले सेयर बजारमा आबद्धहरुलाई  सामाजिक सञ्जालमार्फत साथी बनाउने गर्छिन्। साथी बनेको केही समयमै बाइनान्सलगायत क्रिप्टोकरेन्सीमा आफ्नो कम्पनी ‘स्टक एक्सप्रेस मार्केट कम्पनी’मार्फत क्रिप्टो खरिद गर्दा मनग्य कमाउने सक्ने भन्दै प्रलोभन देखाउँछिन्। 

डेब्राले अहिले क्रिप्टोमा ५०० डलर लगानी गरेको खण्डमा एक सातामै ५ हजार डलर हुने र त्यसबापत आफूहरुले ५ प्रतिशत कमिसन लिने पनि बताएकी छन्। यसका साथै आफ्नो लगानी फिर्ता लैजान पनि सहज रहेको उनले बताउने गरेकी छन्। 

क्रिप्टोमा लगानी गरेको खण्डमा उनको कम्पनीको सफ्टवयरमार्फत एक सातामै १० गुणा हुने डेब्राको दाबी छ। डेब्राले आफ्ना धेरै नेपाली साथीले क्रिप्टोमा लगानी गरेको खुलासा पनि गरेकी छन्। क्रिप्टोको लगानीबाट अन्तर्राष्ट्रिय व्यापार र टुरिजमको पनि विस्तार हुने डेब्राको दाबी छ। 

अमेरिकाको फ्लोरिडामा रहेको उक्त कम्पनीले खासगरी क्रिप्टोमा लगानी गर्ने र त्यहाँस्थित सेयर बजारमा पनि लगानी गर्न सहयोग गर्ने डेब्राको तर्क छ।

डेब्राले पठाएको एउटा भिडियो सन्देशबाट पनि उक्त कम्पनी अमेरिकामा दर्ता भएको वैध कम्पनी रहेको एक एसियाली नागरिकले दाबी गरेका छन्। तर, क्रिप्टोलगायतका भर्चुअल मुद्राको लगानी यसरी एकै सातामा १० गुणा हुन सम्भव नरहेको अन्तर्राष्ट्रिय बजार जानकारहरुको मत छ।

यसै विषयमा नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पोखरेलले नेपालमा क्रिप्टोकरेन्सीको कारोबार अवैध रहेको बताए। यसले देश र नागरिक दुवैलाई नोक्सानी हुने भएकोले स्वयं नागरिक नै सचेत रहनुपर्ने उनको अनुरोध छ।